पोखरा, ७ भदौं/प्रेस चौतारी कास्कीले पत्रकार कल्याणकारी कोष स्थापनार्थ ‘भाग्यले बाँचेकाहरु’ नामक बृतचित्र पोखरामा प्रदर्शन गर्ने भएको छ । ‘भाग्यले बाँचेकाहरु’ मा बैशाख १२ गते गएको विनासकारी भुकम्पमा परि बाँचेकाहरुको अनुभव र सुरक्षा निकायको उद्धारका साथै अति दुर्लभ दृश्यहरु रहेका छन् ।
भदौ १५ गते मंगलबार दिउँसो पोखरा सभागृहमा बृत्तचित्र प्रस्तुत गरिने प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिनुभयो ।पत्रकार कल्याणकारी कोष स्थापनार्थ आयोजना गर्न लागिएको कार्यक्रमलाई थप व्यवस्थित बनाउन अध्यक्ष बरालको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न ५ वटा उपसमिति गठन गरी कार्यक्रमको तयारीलाई तिव्र पारिएको छ ।
डकुमेन्ट्रीमा बैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका ७ जना नेपालीहरुको कथा छ ।काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ ।बृत्तचित्रका निर्देशक पत्रकार गणेश पाण्डेका अनुसार पाँच तले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा डकुमेन्ट्रीमा समेटिएको छ ।आफ्नै घर ढलेर आमाबाबुको बिचल्ली हुँदा समेत सोनिसको उद्दारमा खटिएका सिपाही केसी र उनको परिवारको मर्मलाई पनि डकुमेन्ट्रीमा बेजोड रुपमा उतारिएको छ ।
५५ मिनेट लामो डकुमेन्ट्रीमा धरहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको विनासकारी भूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमुलक पात्रका कथालाई समेटिएको छ । धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाईँ, काठमाडौँको नयाँ बसपार्कबाट १ सय १२ घण्टापछि सकुशल उद्दार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौँको बसपार्कमै सात तले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनाल काठमाडौँको बसपार्कमै होटलमा किचिएर दुवै खुट्टा गुमाएका दैलेख बाँसीका रमेश खत्री, भूकम्प आएपछि आफ्नै घरको आँगनको इनारमा पुरिएपछि जीवितै उद्दार गरिएकी भक्तपुरकी ७५ बर्र्षीया शिवकुमारी खागी, आफ्नै बाबुले सिकाए अनुसार भूकम्प आएपछि खाटमुनि छिरेर जीवन गुमाएकी नुवाकोट तुप्चेकी उत्सना शर्मा र काठमाडौँको काभ्रेस्थलीमा छिमेकीको घरले किच्दा एउटा खुट्टा गुमाएकी मकवानपुरकी प्रिया बिकको पीडादायी कथालाई बृत्तचित्रमा समेटिएको छ ।
भूकम्पमा परेकालाई जीवितै उद्दार गरेर वाहवाही कमाएका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाल प्रहरीका निरीक्षक प्रदीप क्षेत्री र एउटै चितामा पाँच–सात जनाको शव जलाउनु पर्दा विक्षिप्त बनेका भक्तपुरका सविन ख्याँजुको कथा–व्यथादेखि भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी तथा १९९० र २०७२ सालका दुई ठूला भूकम्प देखेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका अनुभवलाई पर्दामा उतारिएको छ ।
Comments are closed.