पोखरामा माओवादी केन्द्रबाट मेयर र उपमेयरका आकांक्षीहरुको नाम सिफारिस

पोखरा,

                                                       नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरमा उम्मेदवार सिफारिस गरेको छ ।

महानगर कमिटीको आज सम्पन्न पूर्ण बैठकले पोखराको मेयरका लागि बखानसिँह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम पार्टीको प्रदेश कमिटीमा सिफारिस गरेको हो । महानगर प्रमुखमा प्रश्तावित गुरुङ पार्टीको कास्की जिल्ला संयोजक हुनुहुन्छ । त्यसैगरी लामिछाने प्रदेश कमिटीका सदस्य तथा महानगरका निर्वतमान अध्यक्ष रहनुभएको छ ।

उहाँले विसं २०७४ को निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल हुने भएपछि अन्तिम घडीमा मेयरको उम्मेदवारी फिर्ता लिनुभएको थियो । माओवादीले मेयरमा एक महिला सहित तीन नाम प्रदेशमा पठाएको हो ।

यसैगरी उपमेयरका लागि गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकास तिवारीको नाम सिफारिस गरिएको महानगर कमिटीका उपाध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभयो ।उपमेयरका उम्मेदवार ढकाल अघिल्लो निर्वाचनमा पनि माओवादीबाट उपमेयरको उम्मेदवार बन्नुभएको थियो । त्रिपाठी पार्टीको महिला नेतृ तथा अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य हुनुहुन्छ ।  तिवारी पोखराका पार्टीका नेता हुनुहुन्छ ।

बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पोखरा महानगरका इन्चार्ज दीपक कोइराला उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा नेता कोइरालाले आसन्न निर्वाचनका लागि कास्कीको सम्पूर्ण पार्टी पंक्तिलाई निर्वाचनमा होमिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“पोखरा महानगरका लागि हाम्रो पार्टीले तय गरेको मापदण्डमा रहेर आज उम्मेदवार सिफारिस गरेका छौँ । एक दर्जन साथीहरुले उम्मेदवारको इच्छा राखेपनि अन्तिममा सर्वसम्मत सिफारिस गरेका छौँ । तालमेलका लागि गठबन्धनसँग छलफल भइरहेको छ । माओवादीले एक्लै पनि चुनावको तयारी गरेर निर्वाचनमा होमिएको अवस्था हो । ”

माओवादी केन्द्रले वैशाख ५ गतेभित्र देशका सबै स्थानीय तहका उम्मेदवार सिफारिसका लागि पार्टी कमिटीलाई निर्देशन दिएको थियो । सत्तारुढ गठबन्धनमा रहेको माओवादीले पाँच दलीय गठबन्धनमा जिल्लामा तालमेलको निर्णय गरिसकेको छ । कास्कीका गठबन्धनका दलहरुबीच अझै तालमेलका लागि सिट बाँडफाँट हुन सकेको छैन ।

 

Comments are closed.