पोखरा, ५ पुस/ पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले लुमन्ती परियोजनाले अगाडी सारेको योजना पोखराका लागि उपयोगी भएको बताएका छन् । आवासका लागि सहयोग समूह(लुमन्ती), पोखरा उपमहानगरपालिका तथा समुदायको सहकार्यमा अगाडि बढिरहेको क्लिफ परियोजनाका विषयमा भएको परामर्श बैठकमा उनले यस्तो बताएका हुन् । परियोजना व्यवस्थापन समितिको आयोजनामा भएकोे बैठकमा क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, निमित्त स्थानीय विकास अधिकारी नारायण श्रेष्ठले लुमन्तीले अगाडि सारेको परियोजना पोखराका लागि उपयोगी भएको धारणा व्यक्त गरे । क्षेत्रीय प्रशासक थपलियाले वसपार्कको व्यवस्थापनका लागि तथा अन्य न्युन आय भएका नागरिकहरुका लागि परियोजना फलदायी हुने विश्वास गरे ।
पोखरा बसपार्क निर्माण क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीहरुका लागि आवास व्यवस्थापनका लागि लुमन्तीमा सार्न सकिने पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको भनाई छ । लुमन्तीले सञ्चालन गरेको परियोजनामा कसरी कसरी सुकुम्बासीलाई समावेश गराउन सकिन्छ भन्ने विषयमा छलफल गर्न परामर्श बैठक आयोजना गरिएको परियोजना व्यवस्थापन समितिका अध्यक्ष एवं पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत बरालले जानकारी दिए ।
परामर्श बैठकमा लुमन्तीका तर्फबाट गणेशमान पुन, पुर्व फिल्ड कोर्डिनेटर सन्तोष जिसी, उपत्यका नगर विकास समितिका बजिरमान श्रेष्ठ, सुकुम्वासी समस्या समाधान आयोगका कास्की अध्यक्ष मानबहादुर जिसी, उपत्यका नगर
विकास समितिका पूर्व अध्यक्ष जीतबहादुर तमु, सुन्दर टोलका बलबहादुर लामा, गैसस महासंघ कास्कीकी सचिव इन्दिरा पौडेल, टोल विकास समन्वय समितिका उज्ज्वल खत्री लगायतले बसपार्क निर्माणका लागि लुमन्ती परियोजनासँग समन्वय गर्न सुझाव दिएका थिए ।
परियोजना अन्तर्गत विरौटा संगमटोलमा ४० र सीतापाइला १ सय २१ गरी १ सय ६१ घर बन्दैछन् । लुमन्तीले समुदायको अगुवाईमा पूर्वाधार निर्माणमा सहजीकरण गर्दै आएको छ । परियोजना अन्तर्गत सेवाग्राहीले तोकिएको मुल्यमा जग्गा खरीद गरेपछि ४ लाख रुपैयाँ घर निर्माणका लागि सस्तो व्याजदरमा लक्ष्मी बैंकले कर्जा प्रवाह गर्नेछ । परियोजना अन्तर्गत पोखरा १४ चाउथेको समावेशी टोलमा ७५ र सुन्दरटोलमा ३१ घर निर्माण भएको छ भने पूर्वाधार निर्माणको काम अगाडि बढिरहेको छ । परियोजनामा सहभागी हुने सेवाग्राहीले जग्गा खरीद गर्नका लागि सरदर ६ लाख खर्च गरेपछि घर निर्माणका लागि लक्ष्मी बैङ्कले सस्तो व्याजदरमा ४ लाख कर्जा उपलब्ध गराउँछ ।
Comments are closed.