पोखरा ६ मंसिर
मेरो घरमा
जव जव उत्सव मनाउने तयारी हुन्छ
उ आफ्नो स्पीकरको भोलुम बढाउँदै
शोकधुनहरु बजाउन थाल्छ
जव म हरियो चौर ओछ्याएर
ध्यानमा बस्छु
उ मेरो घर सिमानामा आउँछ
र धपौरोमा खुसानी पोलेर
मेरो घर तिर फुक्दै रमाउँन थाल्छ
उ मेरो छिमेकी हो ।
हिउँदमा उ मेरो आँगनको घाम छेक्ने उपाय खोज्छ
बर्खामा पानी थुन्ने अभियानमा जुट्छ
यो कवितासं कवि तथा गीतकार दिनेश अधिकारीको हो । शनिबार पोखरामा भएको भारतीय नाकावन्दी विरुद्ध विशेष कवि गोष्ठीमा सन्ध्या नायकका रुपमा सहभागी अधिकारीले भारतप्रति कडा व्यङ्ग्य र आक्रोस व्यक्त गर्दै ‘छिमेकी’ शीर्षकको कविता सुनाए । ‘हाम्रो गुनासो भारत र भारतीय जनताप्रति होइन । त्यहाँका मानवता विरोधी सरकार र नेताहरुप्रति हो’ अधिकारीले भने, ‘छिमेकी भएर त्यहाँको सरकारले गरेको व्यवहारले उसैलाई घृणित बनाइरहेको छ ।’
पोखरामा शनिबार पोखरेली युवा सांस्कृतिक परिवारले समता काव्य सन्ध्यामा नै गरेको भारतीय हस्तक्षेप विरुद्धको कवि गोष्ठीमा यस्तै दुई दर्जन कविता, भारतप्रतिको आक्रोस, नेपाली नेताहरुले खेल्न नसकेको भूमिका, र नेपाली साहित्यकारहरुले अव खेल्नुपर्ने भूमिकाका विषयमा चर्चा भए । कविहरुले कविता, मुक्तक, गजल गीत मार्फत भारतीय नाकावन्दी र तराई आन्दोलनका विषयमा आफ्नो साहित्यक रचना सुनाएका थिए ।
‘एकादेशमा एउटा देश थियो
कन्ठ खोलेर गीत गाउन नपाइने
रुनलाई पनि हाँस्नलाई पनि लाइसेन्स चाहिने’
कवि तीर्थ श्रेष्ठले भारतले नेपाललीहरुको मौलिक हक खोसेकोमा चिन्ता र आक्रोस व्यक्त गर्दै ‘दास मालिक हुन खोजेपछि’ शीर्षकको कविता सुनाए । ‘भारतले गरेको नाकावन्दीले भारत नै पराजय हुँदैछ’ श्रेष्ठले भने, ‘छिमेकी गुमाउँदै गएको भारत सरकारले भोली विहेमा तालि बजाउने, मर्दा मलामी जाने, दुःख पर्दा सहयोग गर्ने छिमेकी पाउने छैन ।’ उनले अव सडकमै भारतीय हस्तक्षेप विरुद्ध कविता र नेपाली स्वाभिमानका पक्षमा साहित्यिक अभियान सुरु हुने बताए ।
साहित्यकारले नै अव राष्ट्रिय अभियान चलाउँदै समाजलाई एकताको सुत्रमा बाँधेर स्वाभिमान बचाउन लाग्नुपर्ने उनकाे भनार्इ थियाे । गोष्ठीमा सहभागी साहित्यकारले आफ्नो कवितामार्फत भारतले अघोषित नाकाबन्दीसहित गरेका हस्तक्षेपको विरोध मात्रै गरेनन्, प्रतिरोधको चेतावनीसमेत दिए । भारत अझै पनि व्रिटिस साम्राज्यवादको धङधङमी रहेको साहित्यकारहरुले चित्रण गरे । परिवारका साहित्य संयोजक प्रकास ज्ञवालीले गोष्ठीमा विशेष कविताका रुपमा चितवनमा रहेका कवि भूपिनको ‘लज्जा’ शीर्षको कविता वाचन गरे ।
दुनियाँ लजाइसक्यो
निधारबाट तल झार आफ्नो लिङ्ग र छोप
अनि मलाई जवाफ देऊ,
लप्लप् लप्लप्
तिम्रो मुखबाट किन दुई जिब्राहरू निस्कन्छन् ?
कुनै विषालु सर्पका झैँ ।
तिम्रो छातीभित्र किन पापको खानी भेटिन्छ ?
तिम्रो बेलायती बुटले
अझै किन मेरी आमाको छाती कुल्चिन्छ ?
कवि शरण आँशुले ‘अचेल म मेरै सारङ्गीहरुमा भोको पेट रेटिरहेछु । मेरा संवेदनाहरुको रङ उत्सव म मेरै शैलीमा मनाइरहेछु’ कविता वाचन गर्दै भारतलाई हस्तक्षेप नगर्न आग्रह गरे । संचारकर्मी दिपेन्द्र श्रेष्ठले भारतले नेपालको जलसम्पदालाई आफ्नो हैकम जमाउन नाकावन्दी गरेको भन्दै अव वार की पार गर्न लाग्नुपर्ने भन्दै आफ्नो कविता सुनाएका थिए । कवि जीवन खत्रीको ‘छिमेकी’ शीर्षकको कविता सुनाए अमृत सुवेदीले ।
छिमेकी
कति साना बालक सम्झिन्छ हामीलाई
र चकलेटसँग बाको टोपी लग्न खोज्छ ।
कति एक्लो सम्झिन्छ हामीलाई
र हाम्रै चेलीमाथी धावा बोल्छ ।
कति निर्बल सम्झिन्छ, हामीलाई
र हाम्रै आँगनमा आएर पिशाब फेर्छ
भारतीय नाकावन्दी र तराई आन्दोलनले सर्वसाधरण चिन्ता, अभाव र महङ्गीको मारमा परेका बेला नेपाली साहित्यकारहरुले आफ्ना सृजनाहरुमा जन आवाजहरु उठाउनु पर्ने भन्दै अधिकांश कविहरुले त्यस्तै रचनाहरु सुनाए । कार्यक्रमका एंब संस्थाका अध्यक्ष सुरेश रानाभाटले अव बोद्धिक वर्गले आवाज उठाउनुपर्ने बेला आएको भन्दै मर्नै परे पनि बोलेरै गर्नुपर्ने भनाई राखे । गोष्ठीमा तेजनाथ घिमिरे, लक्ष्मण थापा, चैतन्य अधिकारी, लोकनाथ पुडासैनी, अर्घेलो थापा, रामकुमार श्रेष्ठ, विष्णु बास्ताेला, रामलाल बाटाजु, सर्वज्ञ श्रेष्ठ, लगायत दुई दर्जन कवि साहित्यकारले कविता सुनाएका थिए भने कार्यक्रमको संचालन सचिव अर्जुन अधिकारीले गरेका थिए ।
Comments are closed.