अवैध चार किलो सुन र ५६ किलो चादीं बरामद
ऋषिकान्त पौडेल । पोखरा १४ फागुन ।
पोखराको एक प्रतिष्ठीत सुन व्यवसाय कम्पनीका सञ्चालक अवैध सुन ओसारपोसार कार्यमा संलग्न भेटीएको छ । तस्करी सुन खरीद तथा विक्री कार्य गर्दैगर्दा रङगेहात पुलिसको फन्दामा परेपछि पोखराको चिप्लेढुङ्गामा रहेको दि युनाईटेड गोल्ड मार्ट प्रालिले सुन व्यवसायमा गरेको अवैध गतिविधि सार्वजनिक भएको हो । अवैध सुन खरीद गरी मोटो रकम कमाउने दाउमा लागेको गोल्डमार्टका सञ्चालक आकाश मान बज्राचार्य करीब तीनसाता अघि पक्राउ परेका थिए । बज्राचार्य ४ किलो अवैध कच्चा सुन र ५६ किलो अवैध चाँदीं र ४७ लाख रुपैयाँभन्दा बढी रकमसहित पक्राउ परेका हुन् । अवैध सुन ओसारपोसार गरेको सूचना पाएपछि नेपाल प्रहरीको अपराध महाशाखाबाट खटीएको टोलीले पसलको काठमाडौंस्थित शाखामा छापा मार्दा उक्त सुन तथा चाँदी बिना भन्सार शुल्कमा राखिएको पाईएका थियोे । अवैध सुन तस्करीमा संग्लग्न उनीसहित बालाजी एण्ड सन्सका बलु जगन्नाथ डाँगी, ममन स्टोर्सका नरेश अग्रवाल, संगम ज्वेलर्सका रमेश खड्का र मोरङका शिवराज श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई नेपाल प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाँउदै थप अनुसन्धानका लागि पठाएको थियो । विभागले पक्राउ परेकाहरुबाट दामासाहीले धरौटी रकम माग गरी रीहा गर्ने भनेपछि गोल्डमार्ट पोखराका बज्राचार्य दुई करोड रुपैयाँ धरौटी राखेर रीहा भएको स्रोतले जनाएको छ । यस घटनामा संलग्न थप केही व्यक्तिलाई समेत पक्राउ गरी अनुसन्धान गरीरहेको बताईएको छ । त्यस्तै विभागले यसअघिका संलग्नताबारे पनि गम्भीर रुपमा अनुसन्धान गरीरहेको जनाएको छ । “अहिले अनुसन्धानका क्रममा सबैलाई दामासाहीले धरौटी माग गरेका छौं । उनीहरुको लिङकेजका अरुपनि केही पक्राउ परेका छन् । दोषीलाई कारवाही नगर्ने कुरा हँुदैन” राजस्व अनुसन्धान विभागका महानिर्देशक बालकृष्ण घिमीरेले पोखरा हटलाइन दैनिकसँग कुरा गर्दै भने ।
उनका अनुसार यस किसिमको अपराधमा संलग्न सबैलाई अवैध सुन ओसारपोसार तथा भन्सार ऐन अन्र्तगत कारवाही हुनेछ । घटनामा संलग्न बज्राचार्यसहित नौं जना सुन व्यवसायी मिलेर दि युनाईटेड गोल्डमार्ट प्रालिका नाममा सुन व्यवसाय गर्दै आएका छन् । जसमध्ये महेन्द्रमान गुभाजु, विमलमान गुभाजु, तीर्थमान बुद्धाचार्य, पुष्पमान बुद्धाचार्य, बिकलमान बुद्धाचार्य, समरमान बुद्धाचार्य, दिर्घमान बुद्धाचार्य, ईश्वरमान बुद्धाचार्य, प्रितममान बुद्धाचार्य लगायतका छन् ।
Comments are closed.