पोखरा २६ फागुन
पाेखराबाटै अब सवैखाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको प्रक्रिया सुरु भएको छ । करिव दुई बर्षदेखि बन्द भएको चार पाँग्रे सवारीको लाइसेन्स वितरणका लागि यातायात व्यवस्था कार्यालय गण्डकीले सोमबारदेखि फारम खुल्ला गरेको हो । सोमबार दुई सय जनाले जीप तथा कारको परिक्षा दिएका छन् । करिव एक महिनादेखि बन्द भएको दुईपांग्रे सवारी साधनको पनि लाइसेन्स वितरणको प्रक्रिया थालिएको हो ।
स्थानीयस्तरबाट चारपांग्रे सवारी साधनको लाइसेन्स वितरण नहुँदा पोखरा र असापास क्षेत्रका सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । यातायात व्यवस्था कार्यालय गण्डकीका लाइसेन्स शाखा प्रमुख भीमप्रसाद तिवारीले अब निरन्तर रुपमा लाइसेन्स वितरण गरिने जानकारी दिए । नयाँ तरिकाले लाइसेन्स दिनका लागि पूर्वाधार नहुँदा लामो समय लाइसेन्स वितरण हुन नसकेको तिवारीले जानकारी दिए । अव फेरी काठमाडौंपछि सबैखाले लाइसेन्स प्राप्त हुने ठाउँ पोखरा बनेको छ । ‘अब बल्ल पूर्वाधार तयार भयो । यसले सर्वसाधारणलाई सहज हुनेछ,’ उनले भने, ‘काठमाडौंपछि सबैखाले सवारीको लाइसेन्स पाइने ठाउँ अब पोखरा बनेको छ । हेभी र लाइट सबै सवारीको लाइसेन्स अब पोखरामै बनाउन सकिन्छ ।’
लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन र सहज रुपमा समान सेवा दिनका लागि सबै खाले तयारी पुरा गरिएको उनले जानकारी दिए । ‘पहिले जग्गा र आवश्यक पूर्वाधार नहुँदा लाइसेन्स वितरणमा समस्या थियो’, तवारीले भने,‘अहिले ति सबै पूर्वाधार निर्माण पुरा भएका छन् ।’ जग्गा नहुँदा प्रयोगात्मक परिक्षाका लागि समस्या भएको तिवारीको भनाई छ । ‘लाइसेन्स लिन पछिल्लो समय नयाँ तरिकाबाट प्रयोगात्मक परीक्षा दिनुपर्ने थियो, तर हामीसँग यस्तो परीक्षा लिन चाहिने जग्गाको अभाव थियो’, तिवारीले भने, अव प्रयोगात्मक र लिखित दुबै परिक्षाका लागि समस्या छैन् ।’
कार्यालयले पोखरा उपत्यका नगर विकास समितिको जग्गा भाडामा लिएर प्रयोगात्मक परीक्षाको लागि व्यवस्था मिलाएपछि समस्या टरेको हो । पछिल्लो नियमअनुसार कुनै पनि सवारीको लाइसेन्स लिनका लागि अन्तर्राष्ट्रियस्तरको मापदण्ड पास गर्नुपर्छ । साँघुरा घुम्तीमा कसरी चलाउने, यु–टर्न, उकालो–ओरालोमा कसरी पिकअप लिने, जेब्रा क्रसमा कसरी चलाउने, ट्राफिक लाइटमा कसरी र कहाँ सवारी रोक्ने लगायत परीक्षा उत्तीर्ण गरेपछि मात्र लाइसेन्स दिइने तिवारीलदे जानकारी दिए । तिवारीका अनुसार प्रतिदिन ३ सय मोटरसाइकल र १ सय २५ सम्म चारपांग्रे सवारीको प्रयोगात्मक परीक्षा लिन सकिन्छ ।
साथै तिवारीले स्वस्थ लिखित परिक्षा र सिसि क्यामराको प्रयोग गरिएकोले लाइसेन्स वितरणमा कुनैपनि तलमाथि हुने संभावना नरहेको दावी गरे । उनले कुनै कर्मचारीले नियम विपरित काम गरेको भए कारवाही गर्ने भने जनाए । ‘कसैले पैसा दिएर लाइसेन्स निकाल्न खोजेको भए त्यो सोंचको पनि अन्त्य गरेहुन्छ’ तिवारीले भने ‘कसैलाई पनि नियम विपरित काम गर्ने अधिकार छैन ।’ उनले विचौलियाको पनि अन्त्य गर्ने दाबी गरे ।
Comments are closed.