पोखरा, २० असार/नेकपा एमालेका केन्द्रीय सदस्य तथा विकास समितिका सभापति रविन्द्र अधिकारीले पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्णको काम छिट्टै सुरु हुने बताएका छन् । विमानस्थल निमार्णअघि गर्नुपर्ने सबै प्रक्रिया लगभग सकिएको र गर्नुपर्ने हस्ताक्षर पनि सबै भइसकेकाले निर्माण कार्यमा अब ढिलो नहुने बताएका हुन् ।
प्रेस चौतारी कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अधिकारीले विमानस्थल निर्माणको क्रममा मुआब्जाको विषयमा केही विवाद भएपनि त्यो समस्या पनि अब विस्तारै टुंगोमा पुगिसकेको बताए । सबैलाई मुआव्जा दिनका लागि केही दिन अघि सरकारले थप २० अर्ब रुपैयाँ निकासा गरेको पनि उनले जानकारी दिए ।
संविधानसभाका सदस्य समेत रहेका अधिकारीले संविधान निर्माणको प्रसंगमा बोल्दै कसैले संविधानको मस्यौदा च्यात्दैमा र विरोध गर्दैमा संविधान निर्माणको काम नरोकिने बताए ।
‘संविधान निमार्णको काम कुनै पनि हालतमा रोकिन्न । उनले भने– संविधान निर्माणपछि नै भूकम्पले क्षति पु¥याएको संरचनाको पुनर्निर्माणको काम गर्न सहज हुन्छ ।’
उनले संविधान सबैको साझा दस्तावेद भएको हुँदा सबै दलका सबै कुरा र सिद्धान्त समेटिन नसकिने बताए ।
‘अहिले संविधान निर्माण हुँदा आफ्नो भविश्य नदेख्ने केहि साना दलहरुले विरोध गरेपनि बृहत् सहमतिमा जारी हुने संविधानले मात्र अबको आर्थिक विकास र भूकम्पपछिको पुननिर्माणमा महत्वपुर्ण भूमिका खेल्छ ।’ अधिकारीले भने– ‘पहिलोपटक जनताका प्रतिनिधिले आफ्नै हातले लेख्न लागेको संबिधान जनताको सम्पति भएको हुनाले यसलाई जोगाउन लागिपर्नुपर्छ ।’
अबको नयाँ बन्ने संविधानमा ३७ भाग, २ सय ९७ धारा र ७ अनुसुची रहने बताउँदै अधिकारीले साउनको मध्येसम्म जसरी पनि संविधानलाई पूर्ण रुप दिन दलहरु लागिपरेको बताए । संविधान विषेश गरेर चार दलबीच भएको १६ बुँदे सहमतिको स्वामित्वमा रहने गरेर ल्याउने कोशिस भैरहेको उनकोे भनाई थियो ।
१६ बुँदे सहमतिलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको सम्बन्धमा अधिकारीले राजनीतिक विषयमा अदालत बोल्नै नहुने विश्वव्यापी मान्यता रहेकाले यसलाई नेपालको अदालतले आत्ससाथ गर्नुपर्ने धारणा व्यक्त गरे । प्रक्रियामा प्रवेश गरिहाल्नुपर्ने अवस्था सिर्जना भएपनि संवैधानिक आधारमा मात्र प्रवेश गर्न पाउने उनको तर्क थियो ।
Comments are closed.