पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा नबढे आन्दोलनकाे चेतावनी

पोखरा, ८ भदौ
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आसपासका स्थानीय बासिन्दाले अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम नबढाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । विमानस्थल निर्माणका लागि पछिल्लो पटक अधिग्रहण गरिएको १ सय ५ रोपनी जग्गाको मुआब्जा कम भएको भन्दै उनीहरुले मुआब्जा रकम बढाउन माग गरेका हुन् ।

निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल घरजग्गा पीडित संघर्ष समितिले मंगलबार विज्ञप्ति निकालेर तेश्रो चरणमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा प्रचलित दरभन्दा अत्यन्तै न्यून भएकाले आफुहरुलाई यो स्विकार्य नभएको जनाएको छ । सरकारले यही भदौ ४ गते पछिल्लोपटक तेश्रो चरणमा अधिग्रहणमा परेको १ सय ५ रोपनी जग्गाका मुआब्जा निर्धारण गरेको थियो । मुआब्जा निर्धारण समितिले बाटोले छोएको जग्गाको प्रतिरोपनी ६७ लाख रुपैयाँ र बाटोले नछोएको जग्गाको प्रतिरोपनी ५१ लाख रुपैयाँ मुआब्जा निर्धारण गरेको थियो ।
तर त्यस स्थानमा बाटोले छोएको जग्गाको मूल्य प्रतिरोपनी २ करोड रुपैयाँ र बाटोले नछोएको जग्गाको मूल्य करिब डेढ करोड रहेको भन्दै जग्गाधनीले मुआब्जा रकम निकै कम भएको भन्दै बढाउन माग गरेका हुन् ।
सरकारले पहिलो चरणमा अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण गरिसेकेको छ भने दोश्रो चरणमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा थोरै भएको भन्दै केही जग्गाधनीले लिन मानेका छैनन् । तेश्रो चरणमा अधिग्रहण गरिएको जग्गाका सबै जग्गाधनीहरुले मुआब्जा रकम पुर्नवलोकन गर्न माग गरेका छन् । तेश्रो चरणको अधिग्रहणमा करिब ८० जना जग्गाधनीहरुको जग्गा परेको थियो ।
यो सबै जग्गा पोखरा उप महानगरपालिका वडा नम्बर १८ छिनेडाँडास्थित हवेली मार्गमा रहेको छ ।
मुआब्जा रकम कम भएको पटक पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले चासो नदिई हचुवाको भरमा रकम निर्धारण गरिएको जग्गाधनीहरुको आरोप छ । उनीहरुले १५ दिनभित्र पीडित समितिसँग छलफल गरी नयाँ मुआब्जा रकम निर्धारण नभए आन्दोलन गर्ने चेतावनीसहित ४ बुँदे माग समेत अघि सारेका छन् ।
घरजग्गा पीडित संघर्ष समितिका अध्यक्ष दिल बहादुर कार्कीले अधिग्रहण गरिने जग्गा चलनचल्ती अनुसारको मूल्यमा हातले नापेर मुआब्जा दिनुपर्ने बताए ।
यस्तै, निर्माण भैसकेका पक्की घरको हकमा घरधनीसहित संलग्न राखेर छलफल गर्नुपर्ने, घरजग्गादेखि उठिवास हुने व्यक्तिलाई परिचयपत्र प्रदान गरी विमानस्थलमा सिर्जना हुने रोजगारीमा संलग्न गराउनुपर्ने र घरजग्गालाई पोखराको केन्द्रविन्दु र पोखरा काठमाडौं राजमार्गबाट दूरी मापन गरी सोही अनुसार घरजग्गा उपलब्ध गर्ने व्यवस्था मिलाउन जग्गाधनीहरुले माग गरेका छन् ।

Comments are closed.