पोखरा इन्द्रमार्गबासीलाई खानेपानी

पोखरा, १ असार/ पोखरा–१४ चाउथेस्थित इन्द्रमार्ग टोलमा खानेपानी पाइप लाइन विस्तार गरिएको छ । पोखरा उपमहानगरपालिका कार्यालयको ४० प्रतिशत र स्थानीय उपभोक्ताको ६० प्रतिशत लागत सहभागितामा खानेपानी पाइप लाइन विस्तार योजना सम्पन्न गरिएको हो ।

इन्द्रमार्ग टोल विकास संस्थाको पहलमा सञ्चालित उक्त योजनाबाट हाललाई झन्डै १०० घरधुरी जनता प्रत्यक्ष लाभान्वित बनेको निर्माण उपभोक्ता समितिका संयोजक एवम् इन्द्रमार्ग टोल विकास संस्थाका कोषाध्यक्ष ताराप्रसाद सुवेदीले जानकारी दिए । योजनामा झन्डै दुई हजार मिटर पाइप विस्तार गरी पानी वितरण गरिएको छ । जसमा मूल लाइनमा तीन इन्चको पाइप ७८० मिलगायत अन्य डेढ इन्च, एक इन्च र आधा इन्चको पाइप बिछ्याइ उपभोक्ताको घरसम्म खानेपानी वितरण गरिएको छ ।

पोखरा उपमहानगरपालिका र निर्माण उपभोक्ता समितिबीच सम्झौता भई वैशाख १० गतेबाट सुरु भएको योजना सम्पन्न भएको छ । कुल १३ लाख ४५ हजार १३ रूपैयाँको लागतमा सम्पन्न भएको उक्त योजनाका लागि रु १२ लाख ८८ हजार ५३७ स्थानीय उपभोक्ता र टोलविकास संस्थाबाट सङ्कलन गरिएको छ । खानेपानी योजनामा सङ्कलित रकम लागत सहभागिताभन्दा रु ५६ हजार ४७६ अपुग भएको बताइएको छ ।

Comments are closed.