पोखरा २९ चैत्र/पोखराको होटल ग्राण्डी भित्रै अब डिस्को पनि संचालन हुने भएको छ । पोखराको पाँच तारे होटल ग्राण्डी भित्र वैशाखको दोस्रो हप्ता भित्र संचालन गर्ने गरी होटल र बार संचालककाबीच सम्झौता भएको हो ।
पर्यटकीय नगरी पोखरामा रहेको पाँच तारे होटल ग्राण्ड भित्र काठमाडौंको दरबार मार्गमा रहेको भुडु क्लब एण्ड लाउन्च बारको शाखा बिस्तार गर्न लागिएको छ । करिव २ करोड रुपैयाँको लागतमा खुल्न लागेको बारलाई नाइट क्लवको रुपमा संचालन गर्न लागिएको सञ्चालक समिर गुरुङ्गले जानकारी दिए । संचालक काठमाडौंको रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको अध्यक्ष र ठमेल पर्यटन विकास परिषदको उपाध्यक्ष पनि हुन् ।
पोखरा पर्यटकीय क्षेत्र हो, उनले भने–तर यो क्षेत्र ९ बजे नै बन्द हुने भएकाले पर्यटकको सुविधाका लागि क्लव सञ्चालन गर्न लागेका हौं । क्लब सञ्चालन गर्न २ करोड रुपैयाँ लगानी लाग्ने उनले जानकारी दिए । यसमा क्लबले ७० प्रतिशत लगानी गर्नेछ भने होटलको पनि ३० प्रतिशत लगानी रहनेछ । तत्कालका लागि दिउँसो २ बजेदेखी राती २ बजेसम्म खुल्नेछ, ब्यवसायीहरुसँग छलफल गरेर २४ सै घण्टा खुलाउने प्रयास गरिरहेका छौं–उनले भने । होटलसँग सम्झौता भैसकेको र प्रत्येक ५ बर्षमा नविकरण हुने क्लबले जनाएको छ । पोखरामा पर्यटकहरु हिमाल चढ्न मात्रै आउँदैनन्, उनीहरुको आवश्यक्ता अनुसारका सेवा सुविधा पनि दिनुपर्छ, मनोरञ्जन पनि महत्वपूर्ण क्षेत्र हो–गुरुङ्गले भने । क्लवमा खानासँगै बेलुकी ७ बजेदेखि राती १० बजेसम्म नाम चलेका गजलकार, गायक, हास्य कलाकार लगाएतको प्रश्तुति रहनेछ भने त्यसपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय डिजेहरुले मनोरञ्जन दिनेछन् । यहाँ करिब ५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । क्लबमा प्रबेश गर्नका लागि सबैलाई समान मुल्यको टिकटको ब्यवस्था गरिने सञ्चालकले जानकारी दिए । खासगरी बाह्य पर्यटक र उच्च आर्थिक स्थिति भएकाहरुलाई लक्षित गरेर क्लव सञ्चालन गरेका हौं, सञ्चालक गुरुङ्गले भने– टिकटमा फरक हुँदैन । दिउँसो मात्रै व्यापार व्यवसाय हुने पोखरामा क्लब सञ्चालनमा आएपछि रातिको समयमा पनि आय आर्जन गर्न सकिने र राज्यको अर्थतन्त्रमा सहयोग पुग्ने सञ्चालकले बताएका छन् । यसअघि पनि क्लबले पोखरामा नाईट क्लब सञ्चालन गर्ने तयारी गरेको थियो । तर विभिन्न अवरोधका कारण सञ्चालन हुन सकेको थिएन भने अहिले पुनः सञ्चालन गर्ने तयारी गरिएको हो ।
क्लवको प्रचार प्रसार गर्ने उद्देश्यले बैशाख १ गते प्रोमोसन कार्यक्रम समेत आयोजना गरिएको क्लवले जनाएको छ । सन् २०१४ को उत्कृट डिजे सेहेर्जडको उपस्थितीमा कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रम पोखराको फुलबारी रिसोर्टमा सञ्चालन हुनेछ । यसअघि पनि लेकसाईडमा ओजन डिस्को नामको क्लब सञ्चालनमा आईसकेको छ ।
Comments are closed.