पोखरा–जोमसोम बस कटेन बेनी

धाैलागिरीका गाडी पनि पोखरामा अवरोध


aabarodhपोखरा, २ चैत / क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले सोमबार तामझामका साथ उद्घाटन गरी पोखराबाट जोमसोमका लागि छुटेको बस बेनीमै रोकियो । पृथ्वीराजमार्ग बस संचालक समितिले पोखराबाट जोमसोमको सिधा बस सेवा सुरु गरेकै दिन म्याग्दीका यातायात व्यवसायीले बेनी कट्न दिएनन् । जोमसोमका लागि गएका यात्रु बेनीमै जिल्ल परे । उनीहरु कतिपय बेनी मै अलपत्र परे कति पोखरै फर्के ।

आफुहरुसँग सहमति नै नगरी एकलौटी ढंगले सेवा सुरु गरिएको भन्दै त्यहाँका यातायात व्यवसायीले पोखरा–जोमसोम सडकखण्ड खन्तर्गत पर्ने बेनीको कालीपुलमा सडकमा सवारीसाधन तेस्र्याएर अवरोध गरेका हुन् ।

पोखराबाट सोमबार बिहान छुटेको यात्रुवाहक बसलाई म्याग्दीका बस, जीप र ट्याक्सी व्यवसायीले संयुक्त रुपमा आन्दोलन गर्दै यातायात ठप्प पारेका थिए । मुस्ताङ, म्याग्दी, धौलागिरी र पृथ्वी यातायात व्यवसायी समितिलाई समान हैसियत नदिएसम्म यसखण्डमा सिधा सवारी साधन सञ्चालन गर्न नदिने म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बताए ।

म्याग्दीबाट पोखरा चल्ने जीपलाई सिण्डीकेट लगाएर नगर क्षेत्र र बसपार्क प्रवेशमा रोक लगाउने जस्ता समस्यालाई समेत तत्काल समाधान गर्नुपर्ने उनको भनाई छ । पृथ्वी राजमार्ग बस व्यवसायी समिति र मुस्ताङ जीप तथा बस व्यवसायी समितिले म्याग्दीका यातायात व्यवसायी समितिसँग समन्वय नै नगरीकन सिधा यातायात सुचारु गरेको कारण अवरोध गर्नुपरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका धौलागिरी संयोजक उमेश केसीले बताए ।

‘उनीहरुले एकतर्फी रुपमा सेवा सुरु गरेका छन्, यसले गर्दा यस क्षेत्रको यातायात व्यवसाय धरासायी हुने खतरा छ’ उनले भने, ‘हामीले पनि निर्वाधरुपमा यस रुटमा सवारी सञ्चालन गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ व्यवसायीले सेवा अवरोध गरेपछि, म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी र प्रहरी नायव उपरीक्षक हिरा गिरीले यातायात व्यवसाय समितिका पदाधिकारीसँग छलफल गरेपनि केही सिप लागेन । उनीहरु आफ्नो अडानबाट टसमस नभएपछि समस्या झन बल्झीएको छ ।

म्याग्दीका यातयात व्यवसायीले आफ्नो बस अवरोध गरेपछि पृथ्वीराजमार्ग बस संचालक समिति पनि आक्रोशित भएको छ । समितिले पनि म्याग्दीका गाडीलाई पोखरामा अवरोध गर्ने भएको छ । ‘पर्यटनको विकासका लागि र यात्रुको सहजताका लागि एउटा मात्र बस सेवा सुरु गरेका हौं । हाम्रा बस रोकिन्छ भने हामी पनि म्याग्दीका गाडी पोखराबाट कट्न दिदैंनौ’, पृथ्वी राजमार्ग संचालक समितिका महासचिव योगेन्द्र बहादुर केसीले भने । धौलागिरीका गाडी पोखराका ठाउँठाउँमा अवरोध गरिने उनको भनाई थियो । त्यहाँको व्यवसायीलाई धरासायी बनाउँन होइन, त्यहाँको पर्यटन र यात्रुको सुविधाका लागि बस सेवा सुरु गरेका हौं । हामीलाई अवरोध गरे हामी पनि चुप लागेर बस्ने कुरा हुँदैन’, समितिका अध्यक्ष ऐन कुमार साइले आक्रोस पोखे । समितिले मंगलबार पनि जोमसोमका लागि गाडी पठाउने उनले बताए ।

Comments are closed.