शनिबार फेरी बार्ता बस्ने
पाेखरा, ४ चैत । पोखरा–जोमसोम सिधा बस सञ्चालनमा भइआएको अवरोध आजदेखि चार दिनका लागि हट्ने भएको छ । क्षेत्रीय प्रशासन कार्यालय पोखराको पहलमा मङ्गलबार भएको म्याग्दी, धौलागिरि, मुस्ताङ र पृथ्वी राजमार्ग बस व्यवसायी समितिका प्रतिनिधिबीचको वार्तामा आगामी शनिबारसम्मका लागि सिधा बस सेवा सञ्चालन गर्ने सहमति भएको हो ।
आगामी शनिबारसम्मका लागि चारवटै समिति मातहतका बस सञ्चालन गर्ने सहमति भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, म्याग्दी, मुस्ताङ, धौलागिरि र पृथ्वीराजमार्ग बस व्यवसायी समिति मातहतका बस एक÷एक दिन पोखरा र जोमसोमबाट सञ्चालन गर्ने सहमति भएको हो ।
आगामी शनिबारसम्म पोखरा–जोमसोम सिधा यातायात सञ्चालन भए पनि त्यसपछि भने पुनः वार्ता बसेर निष्कर्षमा पुग्ने समझदारी बनेको छ । पोखराबाट मुस्ताङको जोमसोमसम्म सोमबारदेखि सिधा बस सेवा सुचारु भए पनि सडकखण्डअन्तर्गत पर्ने म्याग्दीको बेनीमा यातायात व्यवसायीले दुई दिन नै कालिपुलस्थित सडकमा सवारी तेस्र्याएर अवरोध गरेका थिए । पोखरा–जोमसोम मार्गमा आफ्नो गाडी पनि सञ्चालन गर्न पाउनुपर्ने र यहाँबाट सञ्चालन हुने जिप तथा ट्याक्सीलाई समेत पोखरामा निर्वाधरुपमा सञ्चालन गर्न दिइनुपर्ने माग राख्दै म्याग्दीका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
मुस्ताङ र पृथ्वीराजमार्ग बस व्यवसायी समितिले म्याग्दी र धौलागिरि समितिसँग सहमति नगरी एकलौटी ढङ्गले सिधा बस सेवा सञ्चालन गरेको भन्दै यहाँका यातायात व्यवसायीले आपत्ति जनाएका थिए । रासस
Comments are closed.