पोखरा, ५ चैत ।
पोखरा पर्यटन परिषदले पूर्णता पाएको छ । गएको माघ १० गते भएको परिषदको १० औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित सोम थापाको अध्यक्षतामा बिहीबार बसेको कार्यसमितिको बैठकले परिषदलाई पूर्णता दिएको हो । बैठकले परिषदको उपाध्यक्षमा चिरञ्जीवी पोखरेल, महासचिवमा रामु गौतम, कोषाध्यक्षमा नारायणप्रसाद सापकोटालाई जिम्मेवारी दिएको हो । परिषदको निवर्तमान अध्यक्ष सूर्य भुजेल रहेका छन् भने सदस्यहरुमा रामजी घिमिरे र महेन्द्र्र श्रेष्ठ छन् । परिषदमा ११ वटा सदस्य संस्थाहरु पदेन सदस्य रहने व्यवस्था छ ।
परिषदको बिहीबार नै बैठकले तीन महिनाभित्र विधान संशोधनको मस्यौदा तयार गरी कार्य समितिमा पेश गर्न आग्रह गरेको छ । परिषदलाई अझ चुस्त, दुरुस्त बनाउन एवं पर्यटन व्यवसायीहरुको साझा र बलियो संस्था बनाउन विधान संशोधन गर्न लागिएको महासचिव रामु गौतमले जानकारी दिए । विधान संशोधन मस्यौदा समितिको संयोजकमा संस्थापक अध्यक्ष अशोक पालिखे रहेका छन् भने संस्थाका पूर्व अध्यक्ष टीकाराम सापकोटा र नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी सदस्य रहेका छन् ।
स्थानीय स्वायत्त शासन ऐनबाट निर्देशित स्थानीय निकायका अव्यहारिक निर्णयका कारण पर्यटनसम्बद्ध व्यवसायीले भोग्नु परेको समस्या समाधान गर्ने नयाँ अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा पर्यटन परीषद २०५२ सालमा स्थापित भएको हो ।
Comments are closed.