३६ वर्ष ६ महिना पढाएर रित्तोहात अवकाश
-
प्रतिमा सिलवाल
बागबजारको एउटा पुरानो होटलको कोठामा आफूजस्तै वर्षौंदेखि अस्थायी शिक्षकमाझ टेकनाथले शिक्षण पेशाबाट औपचारिक विदाइ लिए, साढे ३६ वर्षभन्दा बढी शिक्षणको योगदानको बदलामा एउटा दोसल्ला उनको काँधमा पर्यो । एक चिम्टी अबिर निधारमा लगाइदिएर अस्थायी शिक्षकहरुले दोसल्ला ओढाइदिएपछि अलिकति भावुक भए उनी । अनि भने, ‘म त अब कति बाँचुला ! बाँकी जीवन म भन्दा दुःख पाएका अस्थायी शिक्षकहरुको अधिकारको लडाईंमा बिताउँछु ।’
कास्कीको धिताल गाविस १, भिडाबारीका टेकनाथ गौतमले २०३५ सालमा कास्कीकै पृथ्वीनारायण क्याम्पसबाट बीए, बीएड गरी बसेका थिए । एकदिन घरमै घाम तापिरहँदा बराह माध्यामिक विद्यालयका परिचर लिन आए । हेडसरले बोलाएको खबर लिएर आएका परिचरका पछि लागेर स्कूल पुगेपछि थाहा पाए पढाउन आउने निम्तो दिन पिएनलाई घरै पठाएका रहेछन् ।
‘त्यतिबेला बाग्लुङ कृषि विकास बैंकमा काम गर्न काठमाडौंबाट तोक लगाएर गए हुन्थ्यो । सुब्बामा लोकसेवा आयोगले एकदुई वटा प्रश्न सोधेर नियुक्ति दिन्थ्यो’ विदाई हुनेबेला उनले विगत सम्झिए, ‘तर घरको गारो जोडिएको स्कुलमै पढाउन ठीक लाग्यो, ३ सय ३७ रुपैयाँ तलबमा नियुक्ति लिएँ ।’ सायद अहिलेको अवस्था आउला भन्ने त्यतिबेला अनुमान मात्रै भएको भए टेकनाथले शिक्षक हुने रहर नपाल्दा हुन् । ‘सबैभन्दा राम्रो पेशा भनेर रोजें । रोडबाट बिदा हुनुपर्ने ‘राम्रो’ पो रहेछ ।’ खाली हात अवकाश पाउँदाको पीडा पोखे टेकनाथले ।
टेकनाथले २०३७ सालमा शिक्षण सेवा आयोगमा परीक्षा पनि दिएका थिए । तर, उत्तीर्ण भएनन् । ‘०३७ सालमा जम्मा तीनवटा प्रश्न सोधेको थियो । एउटा मेरो नाम, अर्को विद्यालयको नाम । आफ्नो नाम र विद्यालयको नाम त बिगारिन होला ।’ उनले थपे, ‘अर्को थियो, ‘अक्षांश र देशान्तर भनेको के हो ? म भूगोलको विषय शिक्षक । भुगोलको पहिलो पाठ मै अक्षांश देशान्तरको पाठ थियो, कसरी बिगारे हुँला र ?’ तर, उनी उत्तीर्ण भएनन् । त्यसपछि ०४८ सालमा चाहिँ जिल्ला शिक्षा कार्यालयले म्याद गुजारेर परीक्षा नै लिएन ।
त्यसपछि भने आन्दोलन गर्नुपर्छ भनेर अस्थायी शिक्षक संघर्ष समिति अन्तर्गत रहेर २०५५ सालदेखि निरन्तर स्थायीका लागि लडे । तर, उनको लडाईं सफल नहुँदै विदाइको हात हल्लाउनुपर्ने भयो । पटक पटक स्थायी प्रक्रियामा अनुत्तीर्ण हुँदा उनलाई विद्यार्थीले सोध्थे, सर ! तपाईं पढाउन जान्ने लेख्न नजान्ने हो ?’ टेकनाथ भन्छन्, ‘सरकारले नै साढे ३६ वर्षको शिक्षण पेशामा गरेको योगदानलाई अयोग्य झैं मूल्यांकन गरेपछि मैले के जवाफ दिने ?’
अस्थायी भएपनि उनी २ पटकसम्म प्रधानाध्यापक भए । त्यहीबेला नेपालमै पहिलोपटक कृृषि प्राविधिक शिक्षा बराहा उच्च माविमा स्वीकृत गराए । उनी आइतबारसम्म प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभिटी) सँग सम्बन्धन रहेको कृषि प्राविधिक शिक्षा कार्यक्रमको पनि प्रमुख थिए । उनले शिक्षण पेशामा गरेको योगदानको कदर गर्दै जिल्ला शिक्षा कार्यालयले पनि उनलाई दुई पटकसम्म सम्मान गरेको छ । तर, सरकारले वृद्धावस्थाको लागि पेन्सन पाउनेगरी भने उनी योग्य हुन सकेनन् । तिनै टेकनाथ अर्थात् पूर्व अस्थायी शिक्षक सोमबारदेखि जिम्मेवार मुक्त भएका छन् । साभार-चक्रपथ
Comments are closed.