पोखरा बिमानस्थलको अल्ट्रालाइट रनवेमा कसले गाड्यो काँटी ?

त्रिभुवन पौडेल
पोखरा, २० मंसिर
एयरपोर्टको रनवेमा काँटी गडेको । त्यो पनि तीन वटा । अझ उत्तानो पारेर । अर्थात तिखो भाग फर्काएर । चौबिसै घण्टा नेपाली सेना र प्रहरी हुने ठाउँमा ।  तपाई सायद सोच्नुहोला हुनै नसक्ने कुरा । तर, यस्तै घटना भएको छ । यही पोखराको बिमानस्थलमा ।

runway
शनिबार बिहान पोखरा अल्ट्रालाइट र फिस्टेल एयरले प्रयोग गर्ने रनवेमा तीन वटा काँटी भेटिएपछि, त्यहाँ हड्डामा मच्चिएको छ । ति काँटी पोखरा अल्ट्रालाइटका पाइलटले देखेका थिए । “धन्न ! सुरुमै पाइलटले देखे,” एयरपोर्टका एक अधिकारीले पोखरा हटलाइनसँग भने “यदी त्यही बाटो अल्ट्रालाइट हिड्दा, त्यो किल्लामा परेको भए जे पनि हुन सक्थ्यो ।” किल्ला भेटिएपछि, जिल्ला प्रहरी कार्यालय कास्कीले मुचुल्का तयार पारेको छ । घटनाका बारेमा, पोखरा बिमानस्थलका अधिकारीहरु केही बोल्न चाहँदैनन् । स्रोतका अनुसार भेटिएका किल्ला एक देखी डेढ इञ्च सम्मका थिए ।

Pokhara-Airport
पोखरा बिमानस्थलका प्रमुख दिपक बराल पोखरा हटलाइनसँग भन्छन् –“यो सुरक्षाको बिषय हो, मैले बोल्न मिल्दैन ।” पोखरा अल्ट्रालाइटका जहाजहरु हिड्ने रनवे भएकाले यसलाई विभिन्न कोणबाट, अनुसन्धान थालिएको सम्बद्ध अधिकारीहरु बताउँछन् । तर, उनीहरु कोही पनि आफ्नो नाम उल्लेख गर्न चाहदैनन् ।
एयरपोर्टमा तैनाथ सैनिक स्रोतका अनुसार भेटिएका काँटी हातले नै उखेलिएका छन् । कडा सुरक्षा ब्यबस्था हुने बिमानस्थलमा बाहिरका मानिस आएर त्यसरी किल्ला गाड्ने सम्भावना नै हुन्न । हालसालै किल्ला भेटिएको वरपर कुनै निर्माण कार्य पनि भएको छैन ।
पोखरा बिमानस्थलमा खटिएका प्रहरीको कमाण्ड गर्ने अञ्चल प्रहरी कार्यालय पोखराका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी महेन्द्र कुमार पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए ।
“घटनाको बारेमा मैले जिल्लाको (कास्की प्रहरी) डिएसपी सापलाई अनुसन्धान थाल्न बताएको छु । कसैको षड्यन्त्र हो की के हो ? अनुसन्धानपछि, खुल्ला,” पोखरा हटलाइनसँग उनले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी गजुरसिद्धी बज्राचार्यले प्रारम्भिक अनुसन्धानमा मानिसले नै काँटी राखेको अनुमान गरिएको जानकारी दिदै घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिए ।

Comments are closed.