पोखरा, भदौ १८ गते । पोखरा महानगरपालिकाको न्यायिक इजलास हप्तामा दुई दिन सञ्चालन हुने भएको छ । न्यायिक समितिको मंगलबार बसेको बैठकले हप्तामा एक दिन सञ्चालन हुदै आएको इजलास अव हरेक सोमबार र बधुबार गरी दुई दिन सञ्चालन गर्ने गरेको न्यायिक समितिका अभिलेख संरक्षक राममणी अधिकारीले जानकारी दिए ।
न्यायिक समितिमा उजुरीको संख्या बढदो क्रममा रहेको र पछिल्लो समय कोरोना संक्रमण समेत बढदो क्रममा रहेकाले सातामा दुई दिन इजलास संञ्चालन गर्ने निर्णय भएको अधिकारीले बताए । हप्तामा एक दिन सञ्चालन गर्दा धेरै भिड हुने भएकाले त्यसलाई कम गराउने उद्देश्यले अर्को ब्यवस्था नहुदाँ सम्म सोमबार र बुधबार इजलास बस्ने निर्णय गरिएको हो न्यायिक समिति सदस्य किशोर बरालले भने । ‘इजलासमा भिड हुदाँ कोरोना भाइरस संक्रमणको डर रहने भएकाले, भिडलाई कम गराउन समितिले उक्त निर्णय गरेको हो’ बरालले भने । न्यायिक समितिले सरकारले घोषणा गरेको लकडाउनमा नागरिकहरु न्यायबाट बञ्चित हुने अवस्था नहोस भनेर अनलाइन उजुरी लिने ब्यवस्था समेत गरेको थियो ।
स्थानीय तहको विवाद स्थानीयस्तरमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमा न्यायिक समितिको व्यवस्था गरिएको छ ।पोखरामा न्यायिक इजलास २०७५ मंसिरबाट सञ्चालनमा आएको हो । विवादका पक्षहरुले आफैले निर्वाचित जनप्रतिनिधिसंग खुलेर राख्न पाउने, आर्थिक बोझ नहुने र विवाद समाधान गर्दा मेलमिलापलाई प्राथमिकता दिइने भएकाले न्यायिक समितिमा उजुरी गर्नेहरुको संख्या बढदै गएको छ । न्यायिक समितिलाई १३ वटा विवादको फैसला र ११ वटाको मेलमिलाप गराउन सक्ने ब्यवस्था संविधानले गरेको छ ।
Comments are closed.