पोखरा विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी

पोखरा, १८ असार/ डीनलाई शौचालयमा थुन्ने विद्यार्थीलाई विश्वविद्यालयले अनुशासनको कार्वाही गरेपछि, त्यसको विरोधमा पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । नेकपा एमाले निकट अनेरास्ववियू समर्थित विद्यार्थीहरुले कार्वाही फिर्ता गर्नुपर्ने माग राखेर अनिश्चितकालकालिन तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम सुरु गरेका हुन् ।j,
उनीहरुले बिहीबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । विज्ञान तथा प्रविधि संकायका डीन डा. गोविन्द लामिछानेले अनेरास्ववियूका तीन जना विद्यार्थीलाई अनुशासनको कार्वाही गर्दै १५ दिनका लागि निष्काशन गरेपछि, विद्यार्थीहरु त्यसको विरोधमा उत्रिएका हुन् ।
तालाबन्दीपछि विश्वविद्यालयको पठनपाठन ठप्प भएको छ भने सम्पूर्ण प्रशासनिक कामकाज पनि प्रभावित बनेको छ । यसको समर्थनमा विभिन्न आंगिक क्याम्पसमा समेत विद्यार्थीहरु आन्दोलित भएका छन् ।
आफुहरुका जायज माग पुरा गराउन विश्वविद्यालय प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएपनि वेवास्ता गरिएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको अनेरास्ववियू कास्कीका जिल्ला अध्यक्ष शेखर गौतमले बताए ।
माग पूरा नभए शुक्रबारदेखि सम्बन्धनप्राप्त सम्पूर्ण कलेजहरुमा समेत पठनपाठन ठप्प पार्ने अनेरास्ववियूका नेता सुवास मल्लले चेतावनी दिए । विद्यार्थीहरुको माग र अल्टिमेटमलाई वेवास्ता गरिएकाले बिहीबार ९ बजेदेखि नै विश्वविद्यालयमा तालाबन्दी गरिएको उनले बताए ।
समस्या समाधानका लागि बिहीबार विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच वार्ता हुने भनिएपनि वार्ताको आव्हन नै गरिएन । विद्यार्थीहरुले शुक्रबार पनि आफ्ना मागहरु प्रति वेवास्ता गरे अझै सशक्त रुपमा उत्रिने चेतावनी दिएका छन् ।
अनियमित तवरले विद्यार्थी ट्रान्सफर गरेको भन्दै डीन लामिछानेलाई असार १४ गते विद्यार्थीहरुले दुव्र्यवहार गर्दै शौचालयमा थुनेका थिए । त्यसपछि लामिछानेले संगठनका जिल्ला कमिटी सदस्य सन्देश दवाडी, इन्जिनियरिङ्ग कलेजका कोषाध्यक्ष सागर पौडेल र हेल्थ साइन्स कलेजका सचिव प्रवेश ढकाललाई १५ दिनका लागि निष्काशन गरेका हुन् ।

डीन लामिछानेले भने आफुले नियम अनुसार नै विद्यार्थी ट्रान्सफर गरेकाले विद्यार्थीहरुको आन्दोलनको कुनै तुक नभएको बताए । एउटा प्राज्ञिक व्यक्तिमाथी कुटपिट गर्दै शौचालयमा थुन्ने विद्यार्थीलाई अनुशासनको कार्वाही मात्रै गरिएको उनको भनाई छ ।
फोटो पनि छः पोखरा विश्वविद्यालयमा तालाबन्दी गर्दै अनेरास्ववियू समर्थिक विद्यार्थीहरु ।

Comments are closed.