पोखरा वृद्धाश्रम १९ औं बर्षमा

पोखरा, १ चैत / पोखरा १७, सीतापाइलामा रहेको पोखरा वृद्धाश्रम १९ औं वर्षमा प्रवेश गरेको छ । १९ औं बार्षिकोत्सवको अवसरमा ज्येष्ठ नागरिकका समस्या र समाधान विषयक छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै समाजसेवी लेखबहादुर गुरुङले ज्येष्ठ नागरिकहरुलाई सवैले सम्मान गर्नुपर्ने बताए । पोखरा वृद्धाश्रमले असहाय र वेवारिसे ज्येष्ठ नागरिकलाई सेवा एवं संरक्षण प्रदान गरेर महत्वपूर्ण सामाजिक भूमिका निर्वाह गरेको उनको भनाई थियो ।

IMG_9917
ज्येष्ठ नागरिक जिल्ला संघका उपाध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले समाजमा ज्येष्ठ नागरिकहरुलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताए । उनले यातायात लगायतका सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा ज्येष्ठ नागरिकलाई विशेष सहुलियतको व्यवस्था हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराकी जेरियाट्रिक वार्डकी इन्चार्ज पार्वती ढुंगानाले विपन्न वर्गका ज्येष्ठ नागरिकहरुको निःशुल्क उपाचार हुनुपर्ने बताईन् । साथै ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुका लागि उपचारमा ५० प्रतिशत छुट रहेको उनले जानकारी दिईन् ।
कार्यक्रमका अवसरमा १८ जना विपन्न वर्गका ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरिएको थियो । कार्यक्रममा पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुली, सचिव कुशुमकेशव पराजुली लगायतले ज्येष्ठ नागरिकको सेवा प्रवाह गर्न दिवा सेवा केन्द्र तथा उपचारका लागि जेरियाट्रिक अस्पताल सञ्चालनका लागि पहल भइरहेको जानकारी गराएका थिए ।
पोखरा वृद्धाश्रम दिवगंत ऋषिकेशव पराजुलीको अग्रसरतामा २०५३ साल चैत १ गते स्थापना भएको थियो । वृद्धाश्रममा अहिले अहिले सेवक सेविका र वृद्धवृद्धा गरी ६४ जना रहेका छन् ।

Comments are closed.