पोखरा सस्तो बजारमा भाडा विवाद

नवराज ढुङ्गाना-
पोखरा, २२ असार-
पोखराका विभिन्न ठाउँमा रहेका फुटपाथ व्यवसायीहरुलाई व्यवस्थित गरी संचालन गरिएको पृथ्वीचोकस्थित पोखरा सस्तो बजार भाडा विवादका कारण सोमबार करिब ६ घण्टा बन्द भएको छ ।
सरकारी जग्गा भाडामा लिई सस्तो बजार संचालन गर्न दिएका व्यवसायी भरत गुरुङ्गले बजार व्यवस्थापन समितिले सम्झौता अनुसारको रकम आफुलाई समयमा नबुझाएको भन्दै केही व्यवसायीलाई धम्क्याएको भन्दै त्यसको विरोधमा स्वयं व्यवसायीहरुले सोमबार दिउँसो बजार बन्द गराएका हुन् ।
आफुहरुले व्यवस्थापन समितिमार्फत् भाडा बुझाउँदै आएपनि व्यवसायी गुरुङ्गका मानिसहरुले व्यवस्थापन समितिसँग ताकेता गर्नुको सट्टा व्यापार व्यवसाय गर्नेहरुलाई दिनहुँ धम्क्याउँदै आतंकित पार्ने गरेको व्यवसायीहरु गुनासो छ । त्यसको विरोधमा उनीहरुले सोमबार दिउँसो ३ बजेदेखि बजार बन्द गराएर वडा प्रहरी कार्यालय बैदाममा धर्ना समेत दिएका थिए ।
सस्तो बजारभित्र रहेका २ सयभन्दा बढी पसल व्यवस्थित गर्दै आईरहेको पोखरा सस्तो बजार व्यवस्थापन समितिले प्रत्येक व्यवसायीहरुबाट मासिक ३ हजार २ सय ५० रुपैयाँदेखी ४ हजार ७० रुपैयाँ भाडा उठाउँदै आएको छ । समितिले बजार संचालनका लागि जग्गा उपलब्ध गराउने व्यवसायी गुरुङ्गलाई मासिक ८ लाख रुपैयाँ बुझाउनुपर्ने सम्झौता छ । तर गत बैशाखदेखि समितिले आफुलाई रकम उपलब्ध नगराएको व्यवसायी गुरुङ्गले बताए ।

sasto-bazzar
“समितिले मलाई विगत दुई महिनादेखिको भाडा दिएको छैन ।” गुरुङ्गले पोखरा हटलाइनसित भने– “कार्यालय प्रयोजनका लागि बजारको छेउमा बनाईएको भवन निर्माणको खर्च पनि समितिले नै व्योहोर्ने सम्झौता भएको हो । त्यो पनि दिईएको छैन । कुनै व्यापारीलाई धम्क्याएर आतंकित पारेको पनि छैन, मैले पाउनुपर्ने रकम पाउनुपर्छ भनेको मात्रै हो ।”
प्रत्येक बर्ष १० प्रतिशतका दरले भाडा रकम बढाउँदै लैजाने सम्झौता अनुसार नै यसबर्षदेखि प्रतिमहिना ८ लाख रुपैयाँ आफुले पाउनुपर्ने गुरुङ्गले बताए । आफुले बजारको छेउमा कार्यालय निर्माण गर्दा लागेको खर्च पनि समितिले नै दिनुपर्ने भएपनि समितिले अहिले आएर आनाकानी गरिरहेको उनको भनाई छ ।
बजार स्थापना हुँदाको बखत २०६९ सालमा जग्गाको मासिक भाडा २ लाख ५० हजार रुपैयाँ तोकिएको थियो । त्यसको ६ महिनापछि, २ लाख ७० हजार पुर्याईएको र तीन बर्षमै मनोमानीरुपमा ८ लाख रुपैयाँ पुर्याईएको बजार व्यवस्थापन समितिले आरोप लगाएको छ । व्यवसायी गुरुङ्गले सरकारलाई ६२ हजार रुपैयाँ मात्रै बुझाउने गरेपनि व्यवसायीहरुसँग ८ लाख रुपैयाँ असुल्दै आएकाले व्यवसायीहरु मर्कामा परेको समितिको भनाई छ ।
सस्तो बजार व्यवस्थापन समितिका अध्यक्ष केशव भुजेलले आफुहरुले भाडा दिएपनि गुरुङ्गले लिन नमानेको बताए ।
“हामीले भाडा नदिएको होईन, पटक पटक भाडा लिन आग्रह गरिरहेका छौं ।” उनले भने– “उहाँहरुले व्यक्तिगत प्रयोजनका लागि बनाईएको भवनको पैसा पनि माग्नु भएको छ, जुन हामीले दिने भनेर सम्झौता भएको थिएन । थप साढे ५ लाख रुपैयाँ पनि चाहियो भनेपछि कुरा नमिलेको हो ।”
बजार व्यवस्थापन समितिले प्रत्येक महिनाको ७ गतेभित्र व्यवसायीहरुसँग भाडा उठाएर ११ गतेभित्र गुरुङ्गलाई भाडा बुझाउने सहमति भएको थियो । समयमै भाडा बुझाएपनि थप रकम मागेपछि, विवाद सुरु भएको भुजेलले बताए ।
बजार व्यवस्थापन समितिका सह–सचिव प्रकाश दुलालले सरकारसँग गुरुङ्गले गरेको सम्झौताको म्याद २०७२ चैत मसान्तमा सकिने भएपनि गुरुङ्गले भने आफुहरुसँग २०७३ साल चैत मसान्तसम्मका लागि भनेर सम्झौता गरेको बताए ।
“गुरुङ्गले २०७२ चैतसम्म मात्रै जग्गा प्रयोग गर्न पाउने गरी सरकारसँग सम्झौता भएको रहेछ ।” उनले भने– “तर हामीलाई झुक्याएर एकबर्षपछिको समय राखेर सम्झौता गरियो । हामीसँग ०७३ सालसम्म व्यापार गर्न पाउने भनेर त्यही अनुसार धरौटी पनि असुलिएको छ । हामीलाई फसाईएको छ ।”
यस बिषयमा व्यवसायी गुरुङ्गले चाहिँ प्राविधिक त्रुटीका कारण २०७२ लेखिनुपर्ने ठाउँमा २०७३ साल लेखिएको दावी गरे । त्यो प्राविधिक गल्तीका कारण भएको हो, मैले उनीहरुलाई झुक्याएको होईन । उनले भने– सरकारसँग मैले गरेको सम्झौता सकिने दिनमै व्यापारीहरुसित लिएको धरौटी फिर्ता गरिदिन्छु ।
उनले गरिखाने व्यवसायीहरुलाई आफुले कुनै नराम्रो दृष्टिकोणले नहरेको भन्दै समितिले समयमै आफुलाई सम्झौता अनुसारको रकम दिए प्रत्येक स्टलको भाडा ५ सय रुपैयाँ घटाईदिने प्रतिबद्धता पनि व्यक्त गरे ।
भाडा विवादले उग्ररुप लिएपछि सोमबार प्रहरीले सस्तो बजार व्यवस्थापन समितिका कार्यालय सचिव टंक खतिवडालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । समस्या समाधानका लागि वडा प्रहरी कार्यालय बैदाममा दुवै पक्षबीच सोमबार साँझ वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन । मंगलबार बिहान १० बजे पुनः वार्ता बस्नेगरी वार्ता टुंगिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विरेन्द्र गोदारले जानकारी दिए ।
सोमबार व्यापारीहरुले बजार बन्द गराएपनि मंगलबार भने बजार बन्द नहुने व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल सरकार पर्यटन मन्त्रालय अन्तर्गत रहेको करिब ५ रोपनी जग्गा वि.सं. २०६२ सालमा पोखराका व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले १० बर्षका लागि भाडामा लिएका थिए । श्रेष्ठले पुनः अकिरा एण्ड आकृती प्रालिका संचालक अर्का व्यवसायी भरत गुरुङ्गलाई दिएका थिए । गुरुङ्गले २०६९ सालसम्म उक्त जग्गा ग्यारेज तथा गाडी पार्किङ्ग प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए । पोखरा उप–महानगरपालिकाले पोखरालाई फुटपाथ निषेधित क्षेत्र घोषणा गरी नगरभित्रका सबै फुटपाथ पसल हटाएपछि, केही व्यापारीहरुलाई उक्त जग्गामा व्यवस्थित गरिएको थियो ।

 

 

Comments are closed.