पोखरा हस्पिटलको अवैध धन्दा ः ल्याब र फार्मेसी सिल

श्याम मगर

पोखरा, २० श्रावण । पोखरा हस्पिटल एण्ट रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित हस्पिटलको ल्याब र फार्मेसी अवैध तरिकाले सञ्चालन भएको खुलेको छ । दर्ता बिना नै हस्पिटलको ल्याब र फार्मेसी सञ्चालन भई रहेको खुल्न आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ल्याब र फार्मेसी सिल गरेको हो ।
अस्पतालका एक शेयर सदस्यले आफूहरुलाई झुक्याएर फार्मेसी र ल्याब सञ्चालनमा ल्याइएको भन्दै आपत्ति जनाए । उनले आफूहरुलाई दर्ता गरेर फार्मेसी र ल्याब सञ्चालन गरेको बताएर अध्यक्ष डाक्टर गोपी हिराचन र सोही अस्पतालका प्रबन्ध निर्देशक सञ्जय कोइरालाको मिलिमतोमा गुमराहमा पारिएको उनको आरोप छ ।
दर्ता नै नगरि फार्मेसी र ल्याब सञ्चालन गरि अवैधानिक तरिकाले सञ्चालन भएको खुलेपछि अस्पतालको फार्मेसी र ल्याब अहिले सिल गरिएको छ । अवैध तरिकाले लाखौं राजस्व छलि गरेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार अस्पतालमा अनुगमन गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट अनुगमन गर्दा दर्ता नै नगरि सञ्चालनमा आएको पाइएपछि फार्मेसी र ल्याब सिल गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पुष्टि गरे । प्रशासनले दर्ता गरेको प्रमाणपत्र पेश गर्न बुधबार १० बजे सम्मका समय सीमा तोकेको थियो । यद्यपि, अस्पताल प्रशासनले दर्ता गरेको प्रमाण पेश गर्न सकेन । ‘दर्ता बिनै ल्याब र फार्मेसी सञ्चालन भई रहेको छ भन्ने उजुरी आएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट गएर छानबिन ग¥यौं । दर्ता भएको रहेनछ,’ प्रमुख जिल्ला अधिकारी गौतमले भने ।
विस २०५५ देखि सञ्चालनमा आएको अस्पतालमा यसअघि टेण्डर गरेर फार्मेसी चलाइएको थियो । अस्पताल प्रशासनले पछि २०७७ साउनबाट फार्मेसी र २०७८ जेठ २ बाट ल्याब आफैले सञ्चालन थालेको थियो ।
अस्पतालका प्रबन्ध निर्देशक सञ्जय कोइरालाले आफूहरु दर्ता प्रक्रियामै रहेको बताए । बिरामीको सुविधाका लागि फार्मेसी र ल्याब सञ्चालनमा ल्याएको उनले बताए । दर्ता प्रक्रियामे रहेको बेला प्रशासनले सिल गरेको उनले बताए ।

Comments are closed.