पोखरा १३ र २५ का अटेरी उम्मेद्वारको कार्ययोजनापत्र सार्वजनिक

पोखरा ,
                                         पोखरा १३ र २५ मा अटेरी उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारको कार्ययोजना सार्वजनिक भएको छ । दुवै वडाको चुनावी कार्ययोजनापत्र शनिबार सार्वजनिक गरिएको हो ।
पोखरा १३ को चुनावी कार्ययोजनापत्र सार्वजनिकीकरणमा कार्यक्रममा स्वागत मन्तव्य राख्दै अटेरीका महिला परिचालन सह संयोजक शैमुन निशाले राजनीतिक दलले बन्धक बनाएर राखेकाले अटेर गर्न आवश्यक रहेको बताइन् । राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गरेको खण्डमा स्वदेशमै रोजगारी सिर्जना हुनुपर्नेमा युवाहरु विदेशिन बाध्य भई रहेको उनले बताइन् ।
वडा नम्बर १३ को वडाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका अमृत बहादुर विश्वकर्माले कार्ययोजनापत्र सार्वजनिकिकरणपछि विवेक प्रयोग गरेर मत हाल्न अनुरोध गरे । उनले आफू निर्वाचित भएपछि गर्न सक्ने काम मात्र घोषणापत्रमा समेटेको जिकिर गरे ।
कार्ययोजनापत्र सार्वजनिकीकरण कार्यक्रममा चलचित्र निर्देशक मनोज पण्डित समेत उपस्थित थिए । उनले अटेरी उम्मेद्वारी घोषणा गरेका अटेरीका सबै अभियन्ताहरुलाई शुभकामना दिए । पोखराबाट सुरु भएको अटेरी आन्दोलनले चारैतिर विद्रोह सुरु गरेको भन्दै उनले सबैलाई अटेर गर्न समेत अपिल गरे ।
कार्यक्रममा लोक संस्कृतिकर्मी हनिफ मियाले समेत अटेरी उम्मेद्वारलाई जितको शुभकामना दिएका थिए ।
वडा नम्बर १३ बाट वडाध्यक्ष पदका लागि अमृतबहादुर विश्वकर्मा । सदस्य पदमा केशबहादुर गुरुङ, सीता परियार र सागर बरालले उम्मेद्वारी घोषणा गरेका छन् ।
वडा नम्बर २५ को कार्ययोजनापत्र सार्वजनिकीकरणपछि वडाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका सोमनाथ अधिकारीले राजनीतिक दलले राम्रो काम नगर्दा आफूले उम्मेद्वारी दिनु परेको बताए । उनले कार्ययोजनापत्रमा उल्लेख भए अनुसार आफूले वडाका लागि काम गर्न कटिबद्ध रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै अटेरीकी महिला अभियान संयोजक युनिका ढकालले राजनैतिक दलले व्यवस्था परिवर्तन गरे पनि नागरिकको अवस्था परिवर्तन गर्न नसकेको बताइन् । उनले चुनावमा विवेक प्रयोग गरेर अटेरीका उम्मेद्वार सही लागे मात्रै भोट दिन अपिल गरिन् ।
अटेरीका पोखरा महानगर प्रमुख पदका उम्मेद्वार गनेस पौडेलले अटेरीले गर्न सक्ने काम मात्र घोषणापत्रमा समेटेको बताए । संघीयतापछि स्थानीय तहलाई स्वायत्त घोषणा गरे पनि अझैं पनि केन्द्रमै अधिकार केन्द्रित गरिएकाले आफूहरुले अटेर गर्नु परेको बताए ।
उनले चुनावी कार्ययोजनापत्र पढेर उम्मेद्वारलाई मुल्यांकन गरेर मात्रै भोट दिन पनि अपिल गरे । वडा नम्बर २५ को कार्ययोजना सार्वजनिकीकरण कार्यक्रममा पनि चलचित्र निर्देशक मनोज पण्डितले शुभकामना मन्तव्य दिएका थिए । दुवै कार्यक्रमको सञ्चालन अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले गरेका थिए । वडा नम्बर २५ मा वडा अध्यक्षका लागि सोमनाथ अधिकारी र वडा सदस्यका पदका लागि नवीन थापा र नवीन त्रिपाठीले उम्मेद्वारी घोषणा गरेका छन् ।

Comments are closed.