पोखरा १७ मा शुक्रबार एक साथ ६० जना युवाले गरे काँग्रेस प्रवेश

पोखरा, २३ बैशाख,

पोखरा महानगरपालिका वडा नम्बर १७ मा शुक्रबार एकैदिन ६० जना नेपाली काँग्रेस पार्टी प्रवेश गरेका छन् । विभिन्न पार्टीमा सक्रिय रहँदा आएका ६० जना युवाहरु एकसाथ पार्टीमा प्रवेश गरेको नेपाली काँग्रेस पोखरा महानगर वडा नम्बर १७ ले जनाएको छ ।

शुक्रबार प्रचारको क्रममा पोखरा १७ को महतगौडा पुगेको चुनाव प्रचार टोलीको कोणसभामा ६० जना युवाहरु एकसाथ काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका नेता गुरु बराल र बृन्दा रानाले सँयुक्तरुपमा सदस्यतापत्र, अबिर र खादा लाएर युवाहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

चुनावको छेको पारेर एकसाथ ठुलो संख्यामा युवाहरु पार्टीमा आउनु सुखद भएको नेपाली काँग्रेस वडा नम्बर १७ ले जनाएको छ । शुक्रबार काँग्रेस पार्टी प्रवेश गर्नेहरुमा अधिकांश युवा एमाले त्यागेर आएको काँग्रेस नेता बरालले बताए ।

पोखरा १७ मा एकसाथ ६० जना युवा काँग्रेसमा प्रवेश गरेपछि वडामा गठबन्धनको जित सुनिश्चित भएको काँगे्रस नेता गुरु बरालले बताए । ‘पार्टीप्रति युवाहरुको यो खाले आकर्षणले हाम्रो आत्मविश्वास निकै बढेको छ ।’ गुरु बरालले भने–‘पोखरा १७ मा यो पटक काँग्रेस र गठबन्धनको सँयुक्त उम्मेदवारहरुले जित्ने पक्कापक्की जस्तै छ ।’

६० जना युवाहरुसँग जोडिएर थुप्रै परिवारहरुले पनि काँग्रेस र गठबन्धनको पक्षमा मत हाल्ने काँग्रेस नेतृ वृन्दा रानाले बताईन् । ‘पोखरा १७ लाई एमालेले आफ्नो गढ भनेर भनेपनि यसपटक गढ भत्कने निश्चित भएको हामीले देखेका छौँ । मतदाताहरुको स्वतस्फूर्त हामीप्रतिको आकर्षण र एमालेप्रतिको रोषले हामीलाई अझै सजिलो बनाएको छ ।’

पोखरा १७ मा यो पटक अध्यक्षमा देवराज आचार्य गठबन्धनको सँयुक्त उम्मेदवार हुन् । वडा सदस्यहरुमा रञ्जिता सुबेदी, शोभा विश्वकर्मा, गोबिन्द बराल, बिक्रम भण्डारीले उम्मेदवारी दिएका छन् । यो समूहले पर्यटन, सामाजिक, साँस्कृतिक, युवा र खेलकुदको क्षेत्रमा आफूहरुले विशेष गुरुयोजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

 

Comments are closed.