पोखरा, २० असार/डीनलाई शौचालयमा थुन्ने विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले १५ दिनका लागि निष्काशन गरेपछि पोखरा विश्वविद्यालयमा सुरु भएको विवाद अझै मिल्न सकेको छैन ।
विश्वविद्यालय प्रशासनले विद्यार्थीहरुलाई गरिएको कार्वाही फिर्ता लिन नसक्ने बताएपछि, विवाद मिल्न नसकेको हो । विवाद मिलाउन शुक्रबार र शनिबार दुवै पक्षबीच वार्ता भएको थियो । शुक्रबार मानवअधिकारकर्मीहरुको रोहवरमा भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो भने शनिबारको अनौपचारिक वार्तामा पनि ठोस निचोड ननिस्किएको अनेरास्ववियूका नेता सुवास मल्लले जानकारी दिए ।
समस्या समाधानका लागि शनिबार अनेरास्ववियूका विद्यार्थीहरु र विश्वविद्यालयका पदाधिकारीहरुले छुट्टाछुट्टै छलफल गरेका थिए । विश्वविद्यालय प्रशासनले आफुहरुका माग पुरा गराउन नसक्ने संकेत दिएपछि आइतबारबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको अनेरास्ववियू कास्कीका जिल्ला अध्यक्ष शेखर गौतमले बताए । आइतबार पोखरा विश्वविद्यालयका सम्पूर्ण परीक्षा हुन नदिईने र गाडी चल्न नदिई बिहानैदेखि प्रदर्शन जारी राखिने उनले बताए ।
विश्वविद्यालय पदाधिकारीको बैठकपछि रजिष्टार डा. दिपक बहादुर भण्डारीले विद्यार्थीहरुलाई गरिएको कार्वाही फिर्ता लिन नसकिने र वार्ता भंग भएको बताएपछि आफुहरु थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको गौतमले बताए ।
“हामीले रजिष्टारबाट सकारात्मक जवाफको अपेक्षा गरेका थियौं ।” उनले भने– “निर्णय फिर्ता हुन सक्दैन, तपाईंहरुले जे सक्नुहुन्छ गर्नुस्, हामी जे सक्छौं गर्छौं भन्ने खालको अभिव्यक्ति दिएपछि थप आन्दोलन घोषणा गर्नुपरेको हो ।”
विश्वविद्यालयका रजिष्टार भण्डारीले भने डीनमाथी दुव्र्यवहार गर्ने र शौचालयमा थुन्ने विद्यार्थीलाई गरिएको अनुशासनको कार्वाही फिर्ता हुन नसकिने संकेत गरेका छन् । गल्ती गर्ने विद्यार्थीलाई गरिएको कार्वाही फिर्ता लिँदा यस्ता घटनाले झन् प्रश्रय पाउने भन्दै उनले जायज माग पुरा गराउन आफुहरु सकारात्मक भएको तर विद्यार्थीहरुका नचाहिँदो माग पुरा गराउन नसकिने बताए ।
विद्यार्थीहरुले आन्दोलनका थप कार्यक्रम आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर घोषणा गर्ने तयारी गरेका छन् भने विश्वविद्यालयका पदाधिकारीहरुको पनि बैठक बसेर आइतबारदेखि आन्दोलनप्रति कडा रुपमा प्रस्तुत गर्ने तयारी गरेका छन् ।
विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन डा. गोविन्द लामिछानेले विपिएचबाट फार्मेसीमा विद्यार्थी ट्रान्सफर गरेपछि, नियम विपरीत ट्रान्सफर गरेको भन्दै गत चैतदेखी विद्यार्थीहरुले विरोध गरिरहेका छन् ।
निर्णय सच्याउन पटक पटक आग्रह गरेपनि नमानेको भन्दै अनेरास्ववियूका विद्यार्थीहरुले गतसाता डीन लामिछानेलाई दुव्र्यवहार गरी शौचालयमा थुनिदिएपछि, विवाद झनै चर्किएको हो ।
Comments are closed.