पोखरा, १६ भदौ । पोखरा उद्योग वाणिज्य संघका बर्तमान उपमहासचिव प्रकाशदेव पालिखे संघको आसन्न महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार नबन्ने भएका छन् । पालिखेले बिहीबार विज्ञप्ति जारी गरी व्यवहारिक कारण र विविध बाध्यताले कुनै पनि पदमा उम्मेदवार बन्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् । २०६७ सालदेखि लगातार ३ कार्यकालसम्म उनी कार्यसमिति सदस्यमा लोकप्रिय मतका साथ बिजयी भएका थिए ।
‘संघमा मेरो आवश्यकता महसुस हुँदाहुँदै पनि विविध व्यवहारिक कारण र बाध्यताले अहिलेको महाधिवेशनमा म कुनै पनि पदमा उम्मेदवार बन्न नसक्ने अवस्था सिर्जना भएको छ,’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘मेरो उक्त निर्णयबाट मेरा शुभेच्छुक तथा सम्पूर्ण उद्योगी व्यवसायीमा पर्न गएको चोट प्रति म क्षमाप्राथि छु ।’ संघमा रहेर उद्योगी व्यवसायीको हकहितको पक्षमा काम गर्न पाउँदा आफू निकै खुसी तथा गौरवान्वित भएको उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
यस पटक संघमा नरहे पनि आफ्नो ठाउँबाट व्यवसायिक हकहित र युवा उद्यमशीलता विकासको क्षेत्रमा निरन्तर खटिने उनले विज्ञप्तिमार्फत प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म प्रति पोखराका उद्योगी व्यवसायीको साथ र समर्थन कति धेरै छ भन्ने प्रमाण भदौ ३१ र असोज १ गते हुने संघको आसन्न ३१औं महाधिवेशनको पूर्र्व सन्ध्यामा झनै पुष्टि भएको छ,’ विज्ञप्तिमा लेखेका छन्, ‘म प्रति देखाउनु भएको साथ र उत्साहलाई मनैदेखि सम्मान गर्न चाहन्छु ।’
युवा व्यवसायी पालिखेले पोखरा उद्योग वाणिज्य संघमा लोकप्रिय छबि बनाउन सफल भएका छन् । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराका निबर्तमान अध्यक्ष पालिखे अहिले केन्द्र्रीय सदस्य हुन् । संघको उपमहासचिव र मञ्चको अध्यक्ष हुँदा उनले नेपाल सरकारबाट ‘युवा उद्यमी प्रोत्साहन पुरस्कार–२०७२’ बाट समेत पुरस्कृत भएका थिए । युवा उद्यमशीलताको विकासमा काम गरेकाले उनले उक्त पुरस्कार पाएका हुन् । पुरस्कारबाट प्राप्त ५० हजार रुपैयाँमा ५० हजार रुपैयाँ नै थप गरेर उनले युवा उद्यमी पुरस्कारका लागि १ लाख रुपैयाँको अक्षेयकोष सञ्चालनमा ल्याएका छन् । ‘उक्त पुरस्कारबाट यहाँको स्थानीय क्षेत्रमा अन्य थुप्रै युवालाई उद्यमी बन्न प्रेरणा मिल्ने मेरो विश्वास छ,’ विज्ञप्तिमा उनले लेखेका छन् । संघको टोली विदेश भ्रमणमा जाँदा १५ दिनसम्म उनले संघको कार्यबहाक अध्यक्ष भएरसमेत संघको नेतृत्वसमेत गर्न सफल भएका छन् ।
संघको आसन्न निर्वाचनमा आफू उम्मेदवार नभएपनि उनले संंघको गरिमालाई थप उच्च बचाउने गरी काम गर्न नयाँ आउने नेतृत्वलाई आग्रह गरेका छन् । ‘संघको अध्यक्ष तथा अन्य विभिन्न पदका उम्मेदवारहरुलाई म शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्
Comments are closed.