१६ औं सशस्त्र प्रहरी दिवस मनाइयो

पोखरा ११ कात्तिक । सशस्त्र प्रहरी वल स्थापनाको १६ औं बार्षिकोत्सबको पोखरामा पनि विविध कार्यक्रका विच मनाइएको छ । दिवसको अबसरमा पोखरा स्थित पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ वाहिनीमा विहिवार विशेष समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी वल मुख्यालय मुक्तिनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक नरेन्द्र कुमार सिंहले देशमा शान्ति सुरक्षा कायम राख्नको लागि सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए । देशमा राजनीतिक स्थिरता कायम नभएकाले सुरक्षा चुनौतिहरु प्नि बढेको उल्लेख गर्दै उनले अन्य सुरक्षा निकायसँगको समन्वयमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न सशस्त्र प्रहरी दृष्ढ रहेको स्पष्ट पारे । समारोहमा सशस्त्र प्रहरी तालिम महाबिद्यालयका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कवीन्द्रमान श्रेष्ठले सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राईको शुभकामना सन्देश पढेर सुनाएका थिए । शुभकामना सन्देश मार्फत राईले संगठनलाई अझ प्रभावकारी बनाउदै उत्साहको साथ कर्तब्यपथमा लाग्न निर्देशन दिएका छन् । १६ औं बार्षिकोत्सबको अबसरमा पोखरामा आयोजित कार्यक्रमका विच २४ जना अमर सशस्त्र प्रहरी कर्मचारीका छोराछोरीलाई जनही २४ हजारको दरले छात्रबृति वितरण गरिएको छ । वहालवाला तथा भूपू सशस्त्र प्रहरीका छोराछोरी मध्ये प्रवेशीका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १० जनालाई जनही १० हजारको दरले पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा मुक्तिनाथ वाहिनी अन्तर्गत रहेर बर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई समेत सम्मान गरिएको छ । यो बर्ष सशस्त्र प्रहरी नायव निरिक्षक धर्मेन्द्र चौधरी, सशस्त्र प्रहरी जवान कविराज क्षेत्री र सशस्त्र प्रहरी परिचर माया गुरुङ्गलाई जनही १० हजार र सम्मान पत्रद्धारा उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । 2त्यस्तै कल्याणकारी सेवा केन्द्र अन्तर्गत उपचार खर्च स्वरुप गोरखा गुल्मका सशस्त्र प्रहरी सहायक हवल्दार पूर्ण वहादुर नेपालीलाई २५ हजार रुपैया हस्तान्तरण गरियो । समारोहमा वार्षिकोत्सबको अबसरमा आयोजित विविध प्रतियागितात्मक कार्यक्रमका विजेता खेलाडीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
दिवसको अबसरमा कात्तिक ७ गते सम्पन्न डवल ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने सशस्त्र प्रहरी उपरिक्षक मान वहादुर रजाली मगर र सशस्त्र प्रहरी उपरिक्षक रविन्द्र मल्लको जोडी , दोस्रो हुने सशस्त्र प्रहरी नायव महानिरिक्षक नरेन्द्र कुमार सिंह र सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कष्णभक्त ब्रम्हचार्यको जोडी तथा तेस्रो स्थान हात पार्न सफल सशस्त्र प्रहरी निरिक्षक उपेन्द्र बुढा क्षेत्री र सशस्त्र प्रहरी नायव निरिक्षक रामु अधिकारीको जोडीलाई पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी कात्तिक ९ गते सम्पन्न ८ किलोमिटर दौड प्रतियोगितामा ४८ प्रतियोगिलाई पछि पार्दै पहिलो हुने सशस्त्र प्रहरी जवान राम वहादुर राना , दोस्रो हुने सशस्त्र प्रहरी जवान थमन बहादुर थापा र तेस्रो हुने सशस्त्र प्रहरी जवान सुरेश ढुंगानालाई प्रमाणपत्र तथा पुरस्कार रकम हस्तान्तरण गरिएको थियो । सशस्त्र प्रहरी नायव महानिरिक्षक नरेन्द्र कुमार सिंह, सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कृष्णभक्त ब्रम्हचार्य र कवीन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक रामकुमार राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।
सशस्त्र प्रहरी वल मुक्तिनाथ वाहिनीका अनुसार पश्चिमाञ्चलमा ५४ जना अमर सशस्त्र प्रहरीहरु छन् । यो क्षेत्रमा झण्डै पाँच हजार दुई सय सशस्त्र प्रहरी फौज तैनाथ छन् ।

Comments are closed.