काठमाडौं, असोज २५
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन्। नवनिर्वाचित प्रधानमन्त्री ओलीले सोमबार अपरान्ह राष्ट्रपति कार्यालयमा एक समारोहबीच राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनियताको सपथ खाएका हुन्।
नेकपा एमालेका अध्यक्ष ओलीले संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्रीका रुपमा सपथ खाएका हुन्। ओली व्यवस्थापिका संसद्मा आइतबार भएको निर्वाचनमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई पराजित गरी प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। प्रधानमन्त्री ओलीले ईश्वरको नाममा नभइ जनताको नाममा सपथ खाएका छन्। सपथग्रहण सम्बन्धी पुस्तिकामा ईश्वरको नाममा भन्ने शब्द रहेपनि प्रधानमन्त्री ओलीले त्यसको सट्टा जनता भन्ने शब्द प्रयोग गरेका हुन्।
सपथग्रहण कार्यक्रममा प्रधानमन्त्रीमा पराजित नेपाली काँग्रेसका सभापति सुशील कोइराला, पूर्व प्रधानमन्त्रीहरु खिलराज रेग्मी, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द तथा विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए।
राष्ट्रपति डा. यादवले सोमबार नै दुई जना उपप्रधानमन्त्री कमल थापा र विजयकुमार गच्छदार तथा पाँच जना मन्त्रीलाई पनि पद तथा गोपनियताको सपथ खुवाएका थिए। सपथ खाने मन्त्रीहरुमा हरिबोल गजुरेल, अग्नीप्रसाद खरेल, सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल र रामकुमार सुब्बा छन्।
यसअघि उपप्रधानमन्त्री र मन्त्रीहरुलाई प्रधानमन्त्रीले सपथ खुवाउने संवैधानिक व्यवस्था रहेकामा यस पटक राष्ट्रपति नै सपथ खुवाएका हुन्। राष्ट्रपति डा. यादवले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पालैपालो सपथ खुवाएका थिए।
सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, कायममुकायम प्रधानन्यायाधीश, सभामुख, सांसद्, संवैधानिक निकायका प्रमुखहरु, उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न देशका राजदूत लगायतको उपस्थिति थियो। समारोहमा सहभागीहरुले नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई लाइन लागेर बधाई दिएका थिए।
Comments are closed.