काठमाडौं । राज्यका महत्वपूर्ण दुई अंग व्यवस्थापिका र कार्यपालिकाबीचको संवादहीनता तोडिएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक परिषद्को बैठकसमेत एकलौटी ढंगले सञ्चालन गरेपछि व्यवस्थापिका–कार्यपालिका टकराव देखिएको थियो ।
प्रतिनिधिसभा विघटनपछि संवैधानिक परिषद्को बैठक र संवैधानिक आयोगमा सिफारिस एकलौटी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा न्यायपालिकाको ढोका ढकढक्याउन पुगेका थिए । त्यसपछि व्यवस्थापिका र कार्यपालिका झगडिया बनेका थिए ।
सर्वोच्च अदालतको आदेशबाट प्रतिनिधिसभा पुनःस्थापित भएपछि सरकारले फागुन २३ मा प्रतिनिधिसभा बैठक डाकेको थियो । सोही बैठकमा सरकारले प्रतिनिधिसभा विघटनको अवधिमा जारी गरेका अध्यादेश संसद्मा लगेको थियो ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले संविधानको मर्ममाथि प्रहार गरेको भन्दै त्यो विधेयक पेस हुने भएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले बैठक बहिस्कार गरेका थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध पारेको थियो ।
संसद्को पहिलो बैठकमा अध्यादेश पेस गर्ने संवैधानिक व्यवस्था रहे पनि संसद् अवरुद्ध भएपछि सरकारले अध्यादेश पेस गर्न पाएको थिएन । संसद् बैठक सुरु भएको दिन संसद्को प्रांगणसम्म पुगेर पनि बैठकमा नगएका प्रधानमन्त्री ओलीले अध्यादेश पेस गर्न नदिएको असन्तुष्टि पोख्दै ‘सदन कसरी चलाउनुपर्छ भनेर अब सभामुखलाई म सिकाउँछु’ भनेका थिए । त्यसयता सरकारले संसद्लाई एउटा पनि विधेयक दिएको छैन ।
विधेयक अधिवेशन भनेर चिनिने हिउँदे अधिवेशनमा सरकारले संसद्लाई विधेयक नदिँदा संसद् ‘बिजनेस’विहीन बनेको छ । त्यही कारण सभामुखले संसद्मा विशेष, समय, शून्य समय चलाएर संसद् सञ्चालन गरिरहेका छन् । तर, व्यवस्थापिका र कार्यापालिका प्रमुखहरुबीच यसबीचमा संवाद भने हुन सकेको थिएन ।
व्यवस्थापिका–कार्यपालिकाका प्रमुखबीचको टकरावले दुई संस्थाको मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकै भविष्यमा प्रश्न उठ्न थालेपछि सभामुख झुकेर बालुवाटार पुग्दै प्रधानमन्त्रीसँगको संवादहीनता तोडेका हुन् ।
सभामुख सापकोटा आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । सभामुख सापकोटाले जनप्रतिनिधिको सर्वोच्च संस्था संसद्लाई प्रभावकारी बनाउन सरकारको सहयोग अनिवार्य भएको भन्दै सबै तिक्तता त्यागेर जनअधिकारका पक्षमा लाग्न प्रधानमन्त्रीलाई प्रस्ताव गरेका हुन् ।
“बिहान ११ बजेपछि सभामुखज्यूले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ,” सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, “उहाँहरुबीच सार्वभौम संसद्को गरिमा बढाउने, संसद्को प्रभावकारिता स्थापित गर्ने र सरकारले ल्याएका महत्वपूर्ण विधेयकहरुलाई अघि बढाउने विषयमा छलफल भएको थियो ।” जनप्रतिनिधिको संस्था संसद्लाई प्रभावकारी बनाउने विषयमा सभामुखको चिन्ता रहेको उनको भनाइ छ । बाह्खरीबाट साभार
Comments are closed.