पाेखरा २२ बैशाख/ पोखराको पर्यटनमा थप टेवा पुर्याउने बृहत्तर योजनासहित अर्को संरचना थपिने भएको छ । पोखरा २१ काहुँडाँडामा ८० फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क निर्माण हुने भएको छ । सोमबार २५ सय ५९ औं बुद्धजयन्तिको अवशरमा एक कार्यक्रम गरी गुरुयोजना सार्वजनिक गरिएको हो । बुद्धको प्रतिमासहित निर्माण हुने पार्कको नाम ‘यशोधर बाटिका’ रहने बताइएको छ ।
१ सय ७१ रोपनी क्षेत्रफलमा बन्ने बुद्धको मूर्तिसहित ‘यशोधरा बाटिका’ स्थलमा यशोधराको प्रतिमा, ध्यान केन्द्र, बुद्ध दर्शन सम्बन्धि पुस्तकालय र पाहुनाहरुलाई बास बसाउन गेष्ट हाउस गुरुयोजना बनेको छ भने आर्थिक जुटाउन नेपाल सरकार, विभिन्न संघ संस्था र स्थानीय निकायको सहयोगमा आर्थिक जुटाउँदै काम सुरु हुनेछ ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले पोखरालाई पर्यटकीय र धार्मिक रुपले आकर्षण गराउने उद्धेश्यले बुद्धको प्रतिमासहित ‘यशोधरा बाटिका’ बनाउने घोषणा गरेका हुन् । यसअघि तमु धिँ नेपालकी महासचिव रुद्रकुमारी (मैना) तमुको संयोजकत्वको टोलीले काहुँकोटमा बुद्धको मूर्ति स्थापनासहित यशोधरा पार्क निर्माण गर्ने स्थलको पहिचान गरेको थियो ।
पोखरा २१ काहुँडाडाँमा बन्न लागेको ‘यशोधरा बाटिका’ निर्माण २५ सय ५९ औं बुद्धजयन्तीका अवशरमा घोषणा कार्यक्रममा सहभागी र सम्बोधन गर्दै क्षेत्रीय प्रशासक दिनेश थपलिया ।
सय ७१ रोपनी क्षेत्रफलमा बन्न लागेको पार्कमा बुद्धको प्रतिमासहित ‘यशोधरा बाटिका’ स्थलमा यशोधराको प्रतिमा, ध्यान केन्द्र, बुद्ध दर्शन सम्बन्धि पुस्तकालय र पाहुनाहरुलाई बास बसाउन गेष्ट हाउस पनि निर्माण गरिने समिति संयोजक रुद्रकुमारी (मैना) तमुले जानकारी दिइन् ।
बुद्ध जयन्तीको अवसर पारेर बोधि बृक्ष (पिपलको विरुवा) रोपिएको छ । कार्यक्रममा क्षेत्रीय प्रशासक थपलियाले पोखरालाई गौरब लाग्ने ठाउँ तथा आकर्षक पर्यटकीय स्थल बनाउने उद्धेश्यले ‘कास्कीका १६ गौरब योजना’ अन्तर्गत मूर्ति स्थापनासहित यशोधरा पार्क बनाउने कार्य अघि बढाइएको बताए ।
सिद्धार्थ गौतमलाई बुद्ध बन्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी यशोधराको योगदानको सम्मान एवं संसारमै नयाँ बाटिका बन्ने भएकाले पर्यटन विकासमा योगदान पुग्ने समेत समितिले लिएको छ । निर्माण समिति सल्लाहकार तीर्थ श्रेष्ठले बन्न लागेको यशोधरा पार्कले पोखराको पहिचानलाई थप बलियो बनाउने बताए । यसले पोखराको पर्यटनलाई फराकिलो बनाउने मात्रै होइन आर्थिक रुपमा समृद्ध पनि बनाउँदै लैजाने उनले विश्वास राखे ।
‘पार्क निर्माणका लागि गुरुयोजना तयार ग¥यौं’ पार्क निर्माण समिति सदस्य दिपेन्द्र श्रेष्ठले बने,‘ स्थानीय खुशी छन् । अब विस्तारै, नेपाल, सरकार, दातृ निकाय, विभिन्न संस्था तथा स्थानीय मार्फत आर्थिक संकलन र निर्माण कार्य सुरु गछौं ।’
पार्कका लागि पोखरा २१ को धारापानी सामुदायिक बनले चर्चेको जग्गा निर्माण समितिलाई प्रदान गरिएको थियो । काहुँको डाँडामा बन्ने पार्कले पोखराको बृहत्तर विकासमा सहयोग पुग्ने धेरैको आशा छ । पोखरामा मात्रै केन्द्रीत हुँदै गएको पर्यटन व्यवसायको पनि विस्तार हुने र आफ्नै ठाउँमा पार्क बन्ने भएपछि स्थानीय पनि खुसी भएका छन् ।
नेकपा एमाले काँहुका अध्यक्ष रेशमबहादुर केसीले पोखरासँगै जोडिएर पनि विकासबाट पछाडि परेको भन्दै अहिले यो गुरु योजनाले सबैलाई फाइदा गर्ने भनाई राखे । नेपाली काँग्रेस काँहुको सभापति बोधराज घिमिरेले काँहुमा पार्क निर्माणले काँहुको भौतिक एवं पर्यटन विकास हुने भएकाले निस्वार्थ रुपमा जग्गा उपलब्ध गराउने बताए ।
एमाओवादीका काँहु अध्यक्ष एवं धारापानी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कुमार क्षत्रीले काँहु क्षेत्रको बृहत्तर विकासका लागि आफुहरु निशर्त जग्गा दिन तयार रहेको बताए । समितिका सल्लाहकार अशोक पालिखेले उक्त योजना काँहुसहित समग्र पोखराको विकासका लागि भएकाले आफुहरु जुटेको स्पष्ट पारे ।
Comments are closed.