
प्रकाश डोटेल फेदीखोला (स्याङ्जा), ८ असार निर्वाहमूखी कृषि प्रणालीलाई व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गर्ने अभियान लिएको स्याङ्जाको फेदीखोला गाउँपालिका २ खहरेलाई ‘नमुना कागती गाउँ’ को रुपमा विकास गर्ने भएको छ । गाउँपालिकाको युवा उद्यम कार्यक्रम अन्र्तगत छानिएको जनजागृत युवा समूहले गाउँमा १ हजार २ सय बढि कागती उत्पादन गरेर कागती गाउँ बनाउने भएको हो ।
स्थानीय बजारदेखि देशभर कागतीको माग बढ्दै गएको भन्दै आफूहरुले व्यावसायिक कागती खेती सुरु गरेको युवा समूहकी अध्यक्ष पार्वत अधिकारीले जानकारी दिईन् । २ वर्षभित्र आफूहरुले यस क्षेत्रलाई कागती पकेट क्षेत्र बनाउने उद्देश्य राखेको उनले बताईन् ।
गाउँपालिकाको युवा उद्यम कार्यक्रम अन्र्तगत यस समूहले उद्यमका लागि बिना व्याज ५ लाख रुपैयाँ ऋण पाएको छ । समूहका अनुसारमा गाउँपालिकामा मात्रै दैनिक १० केजी बढि कागतीको माग छ । करिब १५ किलोमिटरको दुरीमा रहेको पोखरा शहर भएकाले उत्पादीत कागतीको बजार अभाब नहुनेमा समूह विश्वस्त छ ।
“गाउँपालिकाका कृषकहरुले निर्वाहमूखी उत्पादनलाई बदल्दै व्यावसायिक बनेकोमा खुसी लागेको छ ।” गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीले भने, “कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले कुनै कसर बाँकी राख्दैन् ।” आफ्नो परिवारलाई मात्रै पुग्ने र बचेखुचेको उत्पादनलाई बिक्रीका लागि बजार लैजार्ने मानसिकता परिवर्तन गर्नु आवश्यक भएको उनले बताए ।
गाउँपालिकाले यसअघि नै सुन जातको ५ हजार कागतीको बेर्ना र ३ हजार ५ सय कफीको बेर्ना कृषकलाई वितरण गरिसकेको छ । कृषिमा गाउँपालिकालाई सबल बनाउने उद्देश्य अनुसार गाउँपालिका वडा नं. ४ आरुखर्कको गल्यामलाई ‘नमुना असारे आलु खेती’ को रुपमा विकास गरेको छ, भने भाटखोलालाई ‘नमुना कफि गाउँ’ को रुपमा विकास गर्ने अभियान संचालन गरिएको छ ।
१८ बर्षिय छात्रा समूह अध्यक्ष
आधुनिक पुस्ता जसले स्वदेशमा कुनै रोजगारका अवसर देख्दैनन र बाहिरी देशलाई आफ्नो रोजगारीको गन्तव्यको रुपमा योजना बुनिसकेका बेला स्थानीय १८ वर्षकी छात्रा पावर्त अधिकारी जनजागृत युवा समूहकी अध्यक्ष र ‘नमुना कागती गाउँ’ को अभियान्ता बनेकी छन् ।
गाउँलाई कागतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथै गाँउका कृषकलाई समेटेर अगाडी बढ्न आफू अध्यक्ष बनेको उनले सुनाईन् । पोखराको राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान संकायमा अध्यययनरत अधिकारीले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोडेर नेपालको कृषि प्रणालीलाई रुपान्तरण गर्ने उद्देश्य रहेको बताईन् ।
Comments are closed.