नवराज ढुङ्गाना/पोखरा, १३ साउन
पोखराको फेवातालमाथी केबुलकार निर्माण गर्ने बिषयमा स्वयं सभासदहरुले नै विरोध गरेपछि सरकारले यसबारेमा पोखरामै बृहत् छलफल चलाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र निर्माण कम्पनीबीच डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार पार्ने सम्झौता भएसँगै स्थानीयस्तरमा फेवातालमाथी केवुलकार निर्माण गर्न नहुने भन्दै विरोध भएपछि सरकारले पोखरेलीहरुसँग छलफलको तयारी गरेको हो । फेवातालको संरक्षणका लागि सरकारले अधिग्रहण गरेको ताल किनारको बसुन्धरा पार्कमा व्यावसायीक प्रयोजनका लागि केबुलकार निर्माण गर्ने प्रक्रिया थालिएपछि सरोकारवालासँगै सभासदहरुले विरोध गरिरेका छन् ।
अघिल्लो सातामात्रै पोखरा उप महानगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षणका लागि राय सुझाव लिन सरोकारवालासँग छलफल आयोजना गरेको थियो । उक्त छलफलमा कास्कीका सबै ११ जना सभासद र सरोकारवालाहरुले बसुन्धरा पार्कको अस्तित्व मेटिने गरी केवुलकार सञ्चालन गर्न नदिने चेतावनी दिएका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले सम्भवतः आगामी शुक्रबार पोखरामा सबै पक्षलाई राखेर छलफल गर्ने तयारी भैरहेको बताए । शुक्रबार नसकिए पनि अर्को साता छलफल आयोजना गरी समस्या टुंग्याईने उनको भनाई छ ।
केवुलकार निर्माणका क्रममा फेवाताल आसपासको वातावरण प्रभावित नहुने भएपनि पोखरेलीहरुले यथार्थ नबुझ्दा विरोध भएको पौडेलले बताए ।
“केवुलकार निर्माण हुँदैमा बसुन्धरा पार्कमा व्यापारिक संरचना निर्माण हुने होईन । यसले कुनै वातावरण पनि प्रभावित हुँदैन र फेवाताल पनि प्रदूषित हुँदैन ।” पोखरा हटलाइनसित कुराकानी गर्दै पौडेलले भने– “पार्कमा पर्याप्त खाली ठाउँ रहनेछ भने अहिलेको भन्दा अझै सुधारिएको पार्क बन्नेछ । यथार्थ नबुझ्दा विरोध भएको हो ।”
पौडेलले केबुलकार निर्माणका क्रममा देखिएको विरोध र विवादलाई चिर्न तथा केबुलकारको यथार्थ संरचनाको बारेमा पोखरेलीलाई जानकारी गराउन पनि पोखरामै छलफल आयोजना गर्न लागिएको बताए ।
“मन्त्रालयमा अहिलेसम्म यस बिषयमा कुनै गुनासो र उजुरी पनि परेको छैन ।” उनले भने– “मिडियामा आएको कुरालाई नै आधार मानेर हामीले समस्या समाधानको प्रयास गर्न लागेका हौं ।”
उनले बसुन्धरा पार्क कुनै कम्पनीलाई भाडामा दिन लागिएको नभई निश्चित समयसम्म सञ्चालन गर्न पाउने र पछि सरकारलाई नै स्वामित्व हस्तान्तरण गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको बताए ।
तर पोखरेलीहरुले भने ताल संरक्षणका लागि सरकारले स्थानीयसँग २०३८ सालमा अधिग्रहण गरेको जग्गा मापदण्ड मिचेर केबुलकार बनाउन दिइएको भन्दै विरोध गरिरहेका छन् । मापदण्ड मिचेर सरकार आफैंले पार्कलाई व्यावसायिक प्रयोजनका लागि दिन नहुने उनीहरुको भनाई छ ।
सभासद् रवीन्द्र अधिकारी, यज्ञबहादुर थापा, शारदा पौडेल, सीता गिरी ओली, तुलबहादुर गुरुङ, कुमार खड्का, जीवन परियार लगायत कास्कीका सभासदहरुले सार्वजनिक पर्यटकीय क्षेत्रमा व्यवसाय गर्न नदिने र यसबारेमा संसद्मा नै कुरा उठाउने बताएका छन् ।
नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले ताल किनारदेखि शान्ति स्तूपसम्मको क्षेत्रमा केबुलकार बनाउँदा फेवाताल, रानी वनलाई समेत असर पर्ने भएकोले विकल्प खोज्न आग्रह गरेका छन् । उनले खुल्ला पार्कलाई सरकारले व्यावसायीक प्रयोजनका लागि दिन नहुने बताए ।
यसैगरी, पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले पनि केबुलकार निर्माणका लागि बसुन्धरा पार्कको विकल्प खोज्न सरकारसित आग्रह गरेका छन् ।
बसुन्धरा पार्कदेखि विश्वशान्ति स्तूपासम्मको १ दशमलव ३ किलोमिटर दूरीमा केवुलकार निर्माण गर्न मनकामना केबुलकार सञ्चालन गरिरहेको चितवन कोईबीच सम्झौता भएको थियो ।
निर्माण, सञ्चालन र हस्तान्तरण प्रणाली अन्तर्गत निर्माण हुन लागेको केबुलकार आगामी २ बर्षभित्र निर्माण सकी निर्माण कम्पनीले २० बर्षपछि सरकारलाई नै स्वामित्व हस्तान्तरण गर्नुपर्नेछ ।
Comments are closed.