फेवातालको किनारबाट ६५ मिटर भित्रका संरचना हटाउने
पहिलेका स्तम्भहरुको खोजी गर्ने र स्तम्भ नभएका वा हराएका स्थानमा नयाँ स्तम्भ राखिने
आचारसंहिता निर्माण गरी लागु गर्ने योजना
पाेखरा ११ माघ । फेवाताल संरक्षणको कुरा चलेको बषौं भईसक्यो । फेवाताल संरक्षणका नाममा विभिन्न गैर सरकारी तथा सरकारी संस्थाहरुले बर्षेनी विभिन्न कार्यक्रम गर्दै आएका छन् । फेवातालको सरसरसफाई, क्षेत्रफल, जलकुम्भी झार र यसको अस्तित्वको विषयमा बर्षेनी लाखौं रुपैयाँ खर्च भईरहेका छन् तर, समस्या जहाँको त्यही छ । फेवातलको क्षेत्रफल झन साँघुरिँदै गइरहेको छ भने स्वच्छ र सफा पनि हुन सकेको छैन । अव भने फेवाताल संरक्षणमा पोखरा उपमहानगरपालिकाले कार्ययोजना तयार पारेको छ । पोखरा उपमहानगरपालिकासँगै सम्वन्धित निकायहरुको छलफलले फेवातालको दिगो संरक्षण र प्रर्वद्धनका लागि कार्ययोजना तयार पारेको हो ।
फेवातालको वरपर रहेका व्यापारिक प्रतिष्ठान तथा व्यवसाय, नुहाउने, कपडा धुने र अनधिकृत रुपमा माछा मार्ने कार्यलाई नगरपालिकाले तत्काल रोक्ने भएको छ । फेवातालको किनारबाट ६५ मिटरसम्मको क्षेत्रमा बनेका संरचना हटाउने तथा संरचना निर्माणमा कडाईका रोक लगाउनका लागि काम थाल्ने भएको छ । यसमा देखिएका समस्यालाई समाधान गर्नका लागि सम्वन्धित निकायसँग छलफल गरी तत्काल काम अगाडी बढाउने नगरपालिकाले योजना बनाएको छ । तालको वास्तबिक सीमाना पहिचान गर्न यस पूर्व स्थापना गरिएका स्तम्भहरुको खोजी गर्ने र स्तम्भ नभएका वा हराएका स्थानमा नयाँ स्तम्भ राखिने भएको छ ।
फेवातालको संरक्षण तथा विकाससँग सम्बन्धित अध्ययन प्रतिवेदन हेरी परिमार्जनसहित मुख्य कार्ययोजना तर्जुमा गरी कार्यन्वयन गर्न नगरपालिका अगाडी बढेको कार्यकारी अधिकृत महेश बरालले बताए । ‘फेवाताल संरक्षणको दिर्घकालिन योजना बनाउन लागेका हौं’ अधिकृत बरालले भने,‘सवै सरकारी तथा गैर सरकारी संस्था, विभिन्न सामाजिक समुहको संलग्नतामा फेवातालको संरक्षण र प्रवद्र्धनमा कार्ययोजना बनाएका हौं ।’
तालमा मिसिने खोला, खहरेहरुले तटिय क्षेत्रमा ल्याउने ढुङ्गा, माटो, बालुवा लगायतलाई रोक्नका लागि विभिन्न स्थानमा पूर्वाधार निर्माण गर्ने योजना बनाईएको फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालय प्रमुख महेन्द्र बहादुर गोदारद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । हाल भैरहेको नौका विहार, तालमा संचालित अन्य मनोरञ्जनात्मक कार्य तथा खेलहरु, तथा माछा पाल्ने जाली जडित स्थानहरुलाई निश्चित मापदण्ड तयार गरी कार्यन्वयन गर्ने निर्णय बैठकले गरेको छ । फेवातालमा आउने पर्यटकलाई आकर्षण गर्न म्यूजिकल फाउन्टेनको लागि नेपाल सरकार र निजीसँग समन्वय गरी कार्यन्वयन गरीने कार्ययोजनामा उल्लेख छ ।
तालको संरक्षण, विकास र व्यवस्थापन कार्यमा संलग्न सवै सरोकारवालाहरुले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरी लागु गर्ने योजनामा ताल संरक्षण तथा व्यवस्थापन समिति लागेको छ । फेवाताल संरक्षण तथा विकास कार्यालयको भौगोलिक कार्यक्षेत्र तोक्ने र तोकिएको कार्यक्षेत्रमा घर नक्सा पास लगायतका कार्यहरु गर्दा, एवं विभिन्न पूर्वाधार निर्माणका कार्यहरु गर्दा ताल संरक्षण तथा विकास कार्यालयको सिफारिशमा गर्ने व्यवस्था मिलाउने योजना अगाडी सारिएको छ ।
कार्यालयलाई निर्धारित कार्ययोजना कार्यान्वयन गर्न विभिन्न दातृ निकाय, संघ संस्था एवं व्यक्तिहरुबाट प्राप्त सहयोग परिचालन गर्न पोउमनपा भित्र रहने गरी एउटा अलग्गै खाता खोल्ने व्यवस्था मिलाउने र सहयोग रकमका अलावा, उपमहानगरपालिकाले ताल संरक्षणको लागि विनियोजन गरेको रकम समेत यसै खाता मार्फत परिचालन गर्ने व्यवस्था मिलाउने प्रक्रिया अगाडी सारिएको नगरपालिकाले जनाएको छ । फेवाताल भौगोलिक क्षेत्र भित्र सरसफाई कार्यलाई चुस्त राख्न खपौंदी तथा पामे क्षेत्रमा फोहोर संकलन गर्ने गाडी आश्यकता अनुरुप पठाइने भएको छ ।
फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालय संचालनका लागि विभिन्न कार्यालयहरुबाट कर्मचारी राखिने योजना बनाइएको कार्यालय प्रमुख गोदारलले बताए । फेवातालसँग सम्वन्धित निकायहरुको वैठकले विभिन्न आठ निर्णय गर्दै कार्ययोजना बनाएको हो । फेवाताल क्षेत्रमा निर्माण हुने भौतिक पूर्वाधारमा अनिवार्य सिफारिस लिनुपर्ने भएको छ ।
Comments are closed.