फेवा किनारको फुटपाथ हटाउन प्रहरीको एक्सन

 

 

पोखरा,

पोखराको फेवाताल छेउको फुट–ट्रयाकमा विदेशीको पछि लाग्दै मागेर हैरान बनाउनेहरुलाई पोखरा नगर प्रहरीले हटाउन थालेको छ ।

त्यस्तै, फुट–ट्रयाकमा रहेका फुटपाथ व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्तरुपमा सचेत गरेको छ । तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यवसायीहरु र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यवसायीलाई हटाउन अनुरोध गर्दै मंगलबार राति पोखरा महानगर नगर प्रहरी टोली,बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन् ।

आगामी दिनमा पर्यटकीय नगरी पोखराको सुन्दरता कमी आउन नदिनको लागि समेत व्यावसायीलाई आह्वान गरेका छन् । बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले फुटपाथ मिचेर खुद्रा व्यापार गर्ने र व्यवसाय सञ्चालन गर्नेलाई हटाउन सुरु गरिएको जनाएका छन् ।

आन्तरीक र बाह्य पर्यटकसँगै स्थानीयहरुको भीड लाग्ने उक्त स्थानमा मागेर हैरान बनाउनेको समूह र अनैतिक किसिमका गतिविधि देखाउनाले सुन्दरतामा नकारात्मक असर सृजना गरिएको जनगुनासो आएपछि कारवाही सुरु गरिएको श्रेष्ठले बताए । गुनासोपछि सांकेतिकरुपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने उनको भनाई छ ।

पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बिहीबारदेखि व्यापारिक सामान नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सरसामान नियन्त्रण गर्ने बताएका छन् । उनले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न गइरहँदा पर्यटकीय क्षेत्रमा सीमित ठाउँ छुट्टयाएर व्यापार गर्नुपर्ने आवश्यकता रहेको जनाए ।

Comments are closed.