फेसबुकबाट सुरु भएको राहत वितरण पाचौं चरणमा

पोखरा, १६ जेठ-
भूकम्प पीडितको सहयोगका लागि पोखराका युवाहरुले सामाजिक सञ्जाल फेसबुकबाट सुरु गरेको सहयोग अभियान पाचौं चरणमा पुगेको छ ।

नेपाल अर्थक्वेक भोलेन्टियर्स–मिसन गोर्खा नामक फेसबुक पेजबाट भूकम्प पीडितका लागि राहत संकलन र वितरणमा जुटेको युवाहरुको टोलीले पछिल्लो पटक गोरखाको मकैसिं गाविस र नजिकै रहेको चेपाङ्ग गाउँमा पुनर्निनिर्माण गरेको गरेको युवा नेतृत्व नेपालका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

after-facebook-helpटोलीले यसअघि नुवाकोट, रसुवा र सिन्धुपाल्चोकका विभिन्न गाविसहरुमा राहत वितरण गरिसकेको टोलीका अभियान्ता सलि देवानले जानकारी दिए ।
“भूकम्प गएको दोश्रो दिनदेखि नै हामीले फेसबुक पेज निर्माण गरी राहत संकलन र वितरणलाई तिव्रता दिएका थियौं ।” उनले भने– “फेसबुक पेजबाटै विभिन्न विदेशी साथीहरुसँग पनि सम्पर्क भयो । उहाँहरुसँगको सहयोगले हामीलाई झन् बढी सहयोग र उत्साह थपियो ।”

उनले चौथो चरणको राहत वितरणपछि, पाचौं चरणमा मकैसिं को चेपाङ्ग बस्तीस्थित विजया भवानी उच्च माविको पुनर्निर्माणमा आफुहरु जुटेको बताए । भूकम्पले विजया उच्च माविको भवन पूर्णरुपमा भत्किएको थियो । विद्यालयमा श्रमदानमार्फत् ८ वटा अस्थायी कक्षाकोठा निर्माण गरि टोली पोखरा फर्किएको उनले बताए ।

फेसबुकबाटै भेट भएका केही साथीहरु र अन्यसहित १४ जना युवाको टोलीले त्यस विद्यालयमा अध्ययनरत ४ सय ५० जना विद्यार्थीलाई झोला, कापी लगायतका शैक्षिक सामग्रि निःशुल्क वितरण गरेको थियो ।

पाचौं चरणको सहयोग अभियानसम्म करिब १२ लाख रुपैयाँ भूकम्प पीडितका लागि सहयोग गरिसकेको टोलीले जनाएको छ । युवा नेतृत्व नेपाल नामक सामाजिक संस्थासँगको सहकार्यमा काम गरिरहेको टोलीले अब छैठौं चरणको सहयोग कार्यक्रम गर्ने तयारी समेत गरेको छ ।

अबको कार्यक्रम सिन्धुपाल्चोक जिल्लाका भूकम्प पीडितका लागि केन्द्रीत गरिने अभियान्ता देवानले बताए ।

Comments are closed.