फोहरमैला व्यवस्थापनमा नगरपालिकाको बेथिति

logo

बार्षिक करोडौं खर्चेर पनि पोखरा उप–महानगरपालिका कार्यालयले फोहरमैला व्यवस्थापनका लागि अपेक्षित नतिजा प्राप्त गर्न सकिरहेको छैन । पोखराको मुख्य मार्ग न्यूरोड, नयाँ बजार, पृथ्वीचोक लगायतका स्थानहरुमा मात्र होइन उप–महानगरपालिका कार्यालयको आफ्नै भवन अगाडी समेत विहान अवेरसम्म थुप्रिने फोहरले यसको पुष्टी गरेको छ । एक त उप–महानगरपालिकाले नगरको फोहर उचित व्यवस्थापन गर्न सकिरहेको छैन, दोस्रो उसैको जिम्वेवारीका छाडा पशु चौपायाहरुले फोहरको थुप्रोलाई नै आफ्नो बासस्थान बनाएका छन् । विशेष सर–सफाई कार्यक्रम भनेर शहरका कतिपय चोकमा तामझामका साथ उपस्थित नगरपालिकालाई आफ्नै कार्यालय अगाडीको फोहरले चुनौति दिएको छ ।
फोहरमैला व्यवस्थापनका लागि भनेर उप–महानगरपालिका कार्यालयले सुन्दर नेपाल प्रा.लि. र पोखरा फोहरमैला व्यवस्थापन प्रा.लि.लाई नगरवासीसँग चर्को कर असुल्ने जिम्मा सहितको नगदी रसिद थमाएको पनि बर्षौं भैसक्यो । सेवाका लागि नगरपालिका पुग्ने सेवाग्राहीलाई फोहरमैलाको कर नतिरी कुनैपनि काम अगाडी नबढ्ने भन्दै निजी क्षेत्रसमक्ष पु¥याउन बाध्य बनाएको उप–महानगरपालिकाले ति कम्पनीहरुलाई साझेदारी भन्दै सेवाग्राही मार्फत उठेको करको ८० प्रतिशत सम्म पोस्ने गरेको छ । ति कम्पनीहरुसँग हालसम्म कति सेवाग्राहीहरु मार्फत फोहरमैलाको कर दाखिला भयो ? कति सेवाग्राहीहरु करको दायरामा समेटिन बाँकी छन ? भन्ने सम्मको सामान्य अभिलेख समेत नहुनु, नगरपालिका स्वयंका कर्मचारीहरु नगरपालिकाको तलव, भत्ता लगायतका सुविधा लिएर ति कम्पनीहरुको कर्मचारी बन्नु, नगरपालिकाले लाखौं खर्चेर ल्याएका फोहर बोक्ने गाडीहरु निजी क्षेत्रको व्यवसाय चलाउने साधन बन्नु लगायतको बेथितिले फोहरमैला व्यवस्थापनको पाटो नगरपालिकाको मागी खाने भाँडो बनिरहेको तथ्य बोलिरहेका छन् ।
उप–महानगरपालिकाले फोहरमैलाको चर्को कर असुले पनि दैनिक उत्पादन हुने फोहर उठाउने र फाल्ने बाहेकको अन्य गतिविधीका कामहरु गर्न सकिरहेको छैन । कर निर्धारण र शुल्क असुली प्रणाली बैज्ञानिक बनाउने बारेमा खासै चासो पनि दिन सकिरहेको छैन । निजी क्षेत्रलाई जिम्वेवारी प्रदान गर्दा पनि कुनै एक्सन प्लान बिनै हचुवाको भरमा प्रदान गरिरहेको छ । शुल्क तिरेर पनि आम सेवाग्राहीहरुले उचित सेवा प्राप्त गर्न सकिरहेका छैनन् । फोहरमैला र यससंग सम्वन्धित जनचेतनाका कार्यक्रमप्रति उप–महानगरपालिका उदासिन छ । यि सवै तथ्यहरुलाई नगरपालिका कार्यालय अगाडी नै थुप्रिने फोहरले कतिञ्जेल पुष्टी गरिरहने हो ! एकपटक सम्वन्धित सरोकारवालाहरुलाई सोध्ने हो कि ?

Comments are closed.