फोहर व्यवस्थापन सम्वन्धि प्रवचन तथा सांस्कृतिक कार्यक्रम हुने

पोखरा १ चैत्र । पोखरा उप–महानगरपालिका कार्यालयले यहि आउँदो चैत्र ३ गते पोखरा सभागृहमा फोहरमैला व्यवस्थापन सम्वन्धि एक दिने प्रवचन कार्यक्रमको आयोजना गर्ने भएको छ । फोहरमैला व्यवस्थापन एवम् सो को उचित वर्गिकरण गरि श्रोतबाटै फोहरको मात्रा कम गर्ने उद्धेश्यले नगरवासीहरुमा जनचेतना जगाउनका लागि सो कार्यक्रमको आयोजना गर्न लागिएको उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश वरालले जानकारी दिएका छन् ।

कार्यक्रममा फोहरमैला व्यवस्थापनका विज्ञ डा. राजु अधिकारीले फोहरमैलाको उचित व्यवस्थापन, वर्गिकरण साथै न्युनिकरण सम्वन्धि प्रवचन दिनेछन् । नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलको प्रमुख आतिथ्यता रहने कार्यक्रममा पश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रिय प्रशासक दिनेश कुमार थपलिया, कार्यक्रमका मुख्य व्यवस्थापक तथा कार्यकारी अधिकृत महेश वराल लगायतका बक्ताहरुले फोहरमैला व्यवस्थापनका सवालमा मन्तव्य राख्ने तय भएको कार्यक्रमका संयोजक तथा उप–महानगरपालिका कार्यालयका कानुन अधिकृत नारायण प्रसाद शर्माले जानकारी दिएका छन् ।

कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार सिताराम कट्टेल “धुर्मुस”, चर्चित लोकदोहोरी कलाकार प्रजापति पराजुली, जिवन दाहाल, धनवहादुर गायक लगायतका कलाकारहरुले समेत सचेतनामूलक प्रस्तुती राख्नेछन् । दैनिक रुपमा नगरवासीका घर–घरबाट निस्कने फोहर सम्पूर्णरुपमा फोहर नहुने तथा नगरवासीहरुले फोहरका रुपमा दैनिक मोहर फ्याक्दै आएकोले करोडौं खर्चेर निर्माण गरिएको ल्याण्डफिल साइटको आयू घटिरहेको हुँदा फोहरलाई श्रोतबाटै न्युनिकरणका लागि नगरवासीहरुमा प्रसस्त सचेतना आवश्यक रहेकाले सचेतनामूलक प्रवचन तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको मुल समारोह समितीका सदस्य सचिव तथा सरसफाई शाखाका प्रमुख चुडामणी तिवारीले बताएका छन् । चैत्र ३ गते विहान ११ बजेपछि शुरु हुने उक्त कार्यक्रममा सरिक भै फोहरमैला व्यवस्थापन सम्वन्धि सचेतना प्राप्त गर्नका लागि सम्पूर्ण नगरवासीमा नगरपालिकाले अपिल गरेको छ ।

Comments are closed.