–अव नियम कडा हुन्छ–अधिकारी
अमृत सुवेदी/पोखरा २९ मंसिर
पोखरामा फोहोर व्यवस्थापन मुख्य चुनौति बन्दै गएको छ । पोखरा उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि बर्षेनी करोडौं रुपैयाँ खर्चेर पनि पोखरा झन फोहोर बन्दै गइरहेको छ । पोखराको मुख्य मार्ग न्यूरोड, नयाँ बजार, पृथ्वीचोक, महेन्द्रपुल लगायतका स्थानहरुमा मात्र होइन उप–महानगरपालिका कार्यालयको आफ्नै भवन अगाडी समेत विहान अवेरसम्म थुप्रिने फोहोरले नगरपालिकालाई गिज्याइरहेको छ ।
फोहोरमैला व्यवस्थापनकालागि भनेर उप–महानगरपालिका कार्यालयले सुन्दर नेपाल प्रा.लि. र पोखरा फोहोरमैला व्यवस्थापन प्रा.लि.लाई नगरवासीसँग चर्को कर असुल्ने जिम्मा सहितको नगदी रसिद थमाएको पनि बर्षौं भैसक्यो । सेवाका लागि नगरपालिका पुग्ने सेवाग्राहीलाई फोहोरमैलाको कर नतिरी कुनैपनि काम अगाडी बढ्दैन तर नियमित फोहोर उठाउने काममा भन्दै लापरवाही हुँदै आएको छ । उप–महानगरपालिकाले ति कम्पनीहरुलाई साझेदारी भन्दै सेवाग्राही मार्फत उठेको करको ८० प्रतिशतसम्म दिने गरेको छ ।
पोखराको वडा नं.३, ४, ६, ७, ८, ९ र १७ मा सार्वजनिक निजी साँझेदारी कार्यक्रम अन्तरगत यि कम्पनीलाई फोहोर उठाउने जिम्मा दिइएको हो । तर, पहिलेसमेत नियमित फोहोर उठाउन नसकिरहेको संस्थालाई अहिले नाकावन्दी र इन्धनको अभाव बहाना भएको छ । ‘कुन दिन फोहोर उठाउँन आउँछ पत्तै हुँदैन’, वडा नम्वर ९ का उत्तम जोशीले भने, ‘कुन दिन फोहोर उठाउने हो न नगरपालिकाले तालिका दिन्छ, न फोहोर उठाउने जिम्मा लिएको कम्पनीले खवर गर्छ ।’ नियमित फोहोर उठाउन नआउँदा पोखरा नै दुगन्धित हुँदै गएको जोशीको भनाई छ ।
फोहोर उठाउने संस्थाले कसरी फोहोर उठाइरहेको छ । कुनकुन दिन कुनकुन वडामा जान्छ भन्ने कुराको जानकारी न नगरपालिकालाई छ न वडावासीलाई नै छ । यतिसम्मको लापरवाही छ की ति निजी कम्पनीहरुसँग हालसम्म कति सेवाग्राहीमार्फत फोहोरमैलाको कर दाखिला भयो ? कति सेवाग्राहीहरु करको दायरामा समेटिन बाँकी छन ? भन्ने सम्मको सामान्य अभिलेख समेत नगरपालिकामा छैन ।
फोहोर व्यवस्थानका लागि लागि योजना तयार गर्न सम्वन्धित शाखामा निर्देशन दिइसकेको कार्यकारी अधिकृत झलकराम अधिकारीले जानकारी दिए । ‘फोहोरमैला व्यवस्थापनमा थुप्रै समस्या देखिए’, अधिकारीले भने, ‘योजनागत रुपमै फोहोर व्यवस्थापनका लागि कदम बढाउन हामी लागि परेका छौं ।’ साझेदारी संस्थालाई पनि प्रभावकारी बनाउन तथा निमय मिच्ने र जाताभावी फोहोरलाई फाल्नेलार्य कारवाहीको दायरामा ल्याउन आफुले सक्दो प्रयास गर्ने बताए ।
सामान्य घरको ८ रुपैयाँदेखि तारे होटलको ५ हजार रुपैयाँसम्म फोहोरमैला शुल्क उठाउने गरेको छ । तर, सामान्यदेखि अधिकत शुल्क तिर्ने कति छन् भन्ने अभिलेख समेत नहुनेले नगरपालिका कमजोर देखिएको छ । निजी कम्पनी विशुद्ध नाफामुखी संस्था हो । उसको निगरानी र अभिलेख राख्ने भनेको नगरपालिकाले हो । अधिकतम सेवा मार्फत अधिकतम कर संकलन सम्वन्धित शाखाका चुडामणी तिवारीको भनाई थियो । उनको भनाई अनुसर एकिन अभिलेख नभएपनि निजी कम्पनी मार्फत ७० प्रतिशतबाट र नगरपालिका मार्फत २५ प्रतिशतबाट मात्रै कर उठेको छ । ७ वडामा फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको निजी कम्पनीको काम राम्रो र बाँकी वडाबाट नगरपालिका आफैंले गरेको काम फितलो भएको आसय देखाएको नगरपालिकाले आफैप्रति प्रश्न खडा गरेको छ । अहिले थपिएका १० वडामा झन् नगरपालिकाको फोहोर उठाउने गाडीको कुनै नियमितता छैन ।
कर निर्धारण र शुल्क असुली प्रणाली बैज्ञानिक बनाउने बारेमा खासै चासो पनि दिन सकिरहेको छैन । निजी क्षेत्रलाई जिम्वेवारी प्रदान गर्दा पनि कुनै एक्सन प्लान बिनै हचुवाको भरमा प्रदान गरिरहेका कारण पनि समस्या आएको विश्लेशकहरु बताउँछन् । शुल्क तिरेर पनि आम सेवाग्राहीहरुले उचित सेवा प्राप्त गर्न सकिरहेका छैनन् । नगरपालिकाले अझैपनि यस्तै वेथिति जारी राख्ने हो भने “हाम्रो अभिभारा स्वच्छ सुन्दर पोखरा” नारा लिएको पोखरा झन् कुरुप बन्दै जानेछ ।
फोहोर बोक्ने गाडीमा दाउरा ओसार्नेलाई कारवाही
इन्धनको अभाव देखाउँदै नियमित फोहोर उठाउन नआएको सर्वसाधारणबाट गुनासो आइरहेका बेला दाउरा ओसार्ने काम गरेको गाडीका ड्राइभरलाई पोखरा उपमहानगरपालिकाले कारवाही गरेको छ । पोखराको नयाँबजारमा फोहोर बोक्ने गाडीले केही दिन अघि दाउरा झार्दै गरेको तस्विर पोखरा हटलाइनले प्रकाशित गरेपछि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम तिवारीले आइतबार ड्राइभर गणे थापालाई कारवाही गरेका हुन् ।
अधिकारीका अनुसार आफुखुशी नगरपालिकाको फोहोर बोक्ने गाडी दाउरा बोक्ने काममा प्रयोग गरेपछि चेतावनीसहित पाँचदिनको तलव कट्टा गरिएको छ । ‘दोस्रा पटक यस्तो काम गरेका निस्कासनसम्मको कारवाही गर्ने चेतावनीसहित अहिले पाँच दिनको तलव कट्टा गरी कारवाही गरेका छौं’, अधिकारीले भने, ‘गल्ती गर्नेलाई हामी प्रोत्साहन गर्दैनौं । कारवाही गछौं ।’
Comments are closed.