बिबिसी, १० चैत/ स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसलडर्फतर्फ उडेको जर्मनविंग्सको एअरबस ए३२० फ्रान्सको आल्प्स पर्वत क्षेत्रमा मंगलबार दुर्घटनाग्रस्त भएको फ्रान्सेली उड्ययन अधिकारी र प्रहरीले पुष्टि गरेका छन् । विमानमा १ सय ४४ यात्रु र चालकदलका ६ सदस्य गरी १ सय ५० जना सवार थिए । अधिकारीहरुले यो समाचार तयार पर्दासम्म यात्रुको अवस्था अज्ञात रहेको जनाएका छन् । सस्तोमा उडान भर्ने जर्मनविंग्स लुफ्थान्साको सहायक कम्पनी हो ।
फ्राँन्सेली राष्ट्रपति फ्राँस्वा ओलँदले भनेका छन्, ‘दुर्घंटनाको अवस्था अझैसम्म अज्ञात छ र यात्रुहरु जीवित हुने सम्भावना कम देखिएको छ ।’ ओलँदले जर्मनेली चान्सलर एंगेला मर्केललाई फोन गरी समवेदना प्रकट गरेका थिए ।
अधिकारीहरुले जनाएअनुसार उडेको ५० मिनेटपछि १०ः४७ मा विमानले आपतकालीन सन्देश पठाएको थियो । फ्रान्सेली आन्तरिक मन्त्रालयका अधिकारीका अनुसार दुर्घटनास्थल दुई हजार मिटरमाथि र कठिन पर्वतीय क्षेत्रमा भएकोले खोजी गर्न सहज छैन । उनले खोजी र उद्धारका लागि दुर्घटनास्थल मेलाँस र भेल्समा टोलीहरु पठाइएको जानकारी पनि दिएका छन् ।
दुर्घटनामा परेको ए३२० भने २४ वर्ष पुरानो थियो । जर्मनविंग्सलाई विस्थापित गरी युरोविंग्स सुरु गर्ने योजना भइरहेका बेला अघिल्लो साल पाइलटहरुको आन्दोलनले त्यो स्थगित भएको थियो ।
Comments are closed.