बन्दले जनजीवन प्रभावित, पोखराका आमाहरु भन्छन्–के बन्दले संविधान आउँछ ?

पोखरा, २७ पुस/ एकीकृत नेकपा माओवादी लगायत ३० दलीय मोर्चाले आह्वान गरेको तमुवान तथा मगरात क्षेत्र बन्दका कारण आइतबार यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । पहिचानसहितको संघीय राज्य र समय मै संविधान निर्माणका लागि दवाव स्वरुप गरिएको बन्दका कारण पोखरा तथा आसपासका जिल्लामा कुनैपनि गाडी चलेनन् भने कलकारखाना, बजार तथा शैक्षिक संस्था पनि बन्द भए । साँझ पाँच बजेपछि भने यातायात चलेका थिए भने पसल पनि खुलेका थिए । लामो दूरीका सवारी साधन नचल्दा आफ्नो गन्तव्यस्थान जान नसकेर पोखरा बसपार्कमा थुप्रै यात्रु अलपत्र परेका थिए ।banda

बन्द आह्वानकर्ता नगर क्षेत्रका चोकचोकमा आफ्नो पार्टीको झन्डा लिएर बसेका थिए । बन्द गराउनका लागि बन्दकर्ताहरु आ–आफ्नो पार्टीको झण्डासहित पोखराका चोकचोकमा खटिएका थिए । एनेकपा माओवादी कास्कीले बन्ल सफल बनाउनका लागि कास्की जिल्लाका विभिन्न चोक–चोकमा कमाण्डर समेत तोकेको थियो । साथै उसले सबै पक्षलाई पत्र पठाएर बन्दको जानकारी गराएको थियो भने पत्रमा बन्द गर्नुपर्नाको बाध्यात्मक कारण उल्लेख गर्दै त्यसबाट पर्न जाने असरप्रति क्षमा याचना पनि गरिएको बताएको छ ।
‘बन्द हाम्रो रहर होइन, बाध्यता हो । हामिले उद्योगी व्यापारी, शैक्षिक संस्थालगायत बन्दबाट प्रभावित सबै पक्षलाई बन्द गर्नुको कारण बारेमा चिठी पठाएर जानकारी दिएका थियौं’ एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइराला रुपकले भने, ‘सत्ता पक्षले पेलेर जान लागेका कारण बन्द गर्न बाध्य भएका हौँ ।’ माओवादी कास्कीले आज वैद्य नेतृत्वले आफूहरुले नै उठाएका मुद्दा पुरा गराउनुपर्ने मागसहित आयोजना गर्न लागेको बन्दलाइ पनि समर्थन गर्ने जनाएको छ । कास्की तथा आसपासका जिल्लामा पनि बन्दको पूर्ण प्रभाव परेको छ ।

बन्दको विरोधमा पोखराका आमाहरु भन्छन्–के बन्दले संविधान आउँछ ?

Mother in road

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको बन्दले आइतबार पोखरा सुनसान थियो । पोखरा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक पनि गन्तब्यसम्म पुग्न नसकेकोले अलपत्रमा परेका थिए । पोखराको लेकसाइडमा भने फाट्टफुट्ट पसलहरु खुलेका थिए । बन्दको जानकारी नभएर पोखरा आएका धेरैलाई बन्दले दुःखीत बनाएको थियो । केही समययता आन्दोलन, प्रर्दशन तथा जुलुस बेलाबेलामा भइरहेको भएपनि बन्द हड्ताल नै भने भएको थिएन । धेरैजना फेरी बन्दको संस्कार सुरु हुन लागेको र देशको राजनीतिक अवस्था विग्रदै गएकोमा चिन्तित नै थिए । त्यही चिन्ता व्यक्त गर्दै बन्द हड्तालको विरुद्ध पोखराका आमाहरुले ¥याली निकालेका छन् । पोखरा लेकसाइड क्षेत्रमा जगदम्बा आमा समूहको नेतृत्वमा निस्किएका आमाहरुले बन्दहड्ताल नगर्न सबैलाई आग्रह गर्दै छलफल र सहमतिबाटै समस्या समाधान गर्न आग्रह गरेका छन् । आमाहरुले निकालेको ¥यालीलाई स्थानीयले पनि साथ दिएका थिए ।

स्थानीय जगदम्वा आमा समुहको नेतृत्वमा भएको ¥यालीमा जरेबर उज्वल दिदी बिहीनी आमा समुह, अन्नपूर्ण आमा समुह र महिला विकासका लागि आमा समुहसहित ९ आमा समुह सहभागी भए ।
बन्दले संविधान बन्दैन, देशको आर्थिक उन्नतीकालागि बन्द हड्ताल नगरौ, वार्ता र संविधानसभामा छलफल गरेर संविधान बनाऊ भन्दै आमाहरु ¥यालीमा सहभागी थिए । जरेबरबाट सुरु भएको ¥याली लेकसाइड परिक्रमा गरी सहिद चोकमा पुगेर आमसभामा परिणत भएको थियो । ‘बन्दले कसैलाई फाइदा हुँदैन, सबैलाई घाटामात्रै हुन्छ’, जगदम्वा आमा समुकी अध्यक्ष दुर्गादेवी पहारीले भनिन् , ‘जुनसुकै पार्टीले बन्द गरेपनि हामी बन्द नगर्न अनुरोध गछौं ।’ बन्द हड्ताल समस्याको समधान नभएको उनीहरुको ठम्याई छ ।

२०६५ सालमा पोखराको पर्यटकीयक्षेत्र बैदाम लेकसाइडलाई नेताहरुसँग छलफल गरी बन्दमुक्त क्षेत्र घोषण गरेको उनले सुनाइन । सबै पार्टीले बैदामक्षेत्रलाई बन्द हड्तालमुक्त क्षेत्र घोषणमा समर्थन जनाए पनि लेकसाइड बन्दले प्रभावित भएपछि बन्दको बिरोधमा सचेतना ¥याली गर्नु परेको उनले सुनाइन ।
जरेबर उज्वल दिदी बिहीनी आमा समुहकी अध्यक्ष इन्दिरा गैह्रेले पोखरा आएका पर्यटकलाई बन्द गरेर दुःख दिन नहुने बताइन् । हातहातमा प्लेकार्ड बोकेका आमा र अन्य स्थानीयहरुले बन्द सधैंका लागि बन्द गर्न आह्वान गरेका थिए । बन्दविरुद्द नारा लगाउँदै आमाहरु सडकमा उत्रेपछि पोखराको वातावरण केहीबेर तनावग्रस्त भएको थियो । यसैगरी लेखनाथको अघौंचोकमा पनि स्थानीयले बन्दको विरोधमा सडकमा उत्रिएका छन् । त्यसक्रममा बन्दकर्ता र स्थानीयबीच विवाद भएपनि केहीछिन स्थिति तनाबग्रहस्त बनेको थियो ।

Comments are closed.