भदौ ६ गते
तस्विर-सुदर्शन रञ्जित /सञ्जय शाक्य
नेपाल आदिवासी जनजाति महासंघले आव्हन गरेको दुईदिने बन्दको प्रभाव आज बिहानैदेखि परेको छ । संविधानको नयाँ मस्यौदाको विरोध गर्दै महासंघले आज र भोली दुई दिनका लागि बन्द आव्हन गरेको हो ।आज बन्द हुने भनिएपछि बिहानैदेखि पोखरामा गाडी चलेका छैनन् भने शिक्षण संस्था समेत बन्द छन् ।
बिहान ६ बजेअघि पोखराको सडकमा फाट्टफुट्ट सवारीसाधन चलेपनि अहिलेपनि चलेका छैनन् ।अत्यावश्यकीय सवारीसाधनलाई भने बन्दमा चल्न दिईने महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले बताए ।विगतमा गरेको सहमति र अन्तरिम संविधानको भावनाविपरीत नयाँ संविधान ल्याउन लागिएको भन्दै विरोधस्वरुप महासंघले बन्द आव्हन गरेको हो ।
आइतबार र सोमबारको बन्द शान्तिपूर्ण हुने लेखीको दावी छ ।बन्दका क्रममा प्रेस, एम्बुलेन्स, कुटनीतिक नियोग, मानवअधिकार, खानेपानी बोकेका गाडी चल्न पाउनेछन् ।
यसैगरी पोखराको सृजनाचोकमा जर्बजस्ती बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारीलाई स्थानीयले लेखेटेका छन् । नेपाल आदिवासी जनजाति महासंघले आव्हन गरेको बन्दमा बजार बन्द गराउन हिँडेका केही बन्दकर्तालाई स्थानीय बासिन्दाले लखेटेका हुन् । बन्दकर्ता लखेटिएपछि सिर्जनाचोकका केही पसल खुलेका छन् ।
खुलिरहेका पसल बन्द गराउन खोजेपछि बन्द गर्न नहुने बताउँदै व्यवसायीले बन्दकर्तालाई लेखेटेका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले बताए । पर्यटक बस पनि फर्काइएको भन्ने सुनेपछि आफुहरुलाई यस्तो कार्य सह्य नभएको र चित्त नबुझेको उनको भनाई छ । बन्द गरेर अहिलेसम्म कुनै उपलब्धि भएको उदाहरण नभएकाले बन्दको विकल्प खोज्न पनि उनले आग्रह गरे ।
बन्दकर्ताहरुलाई बन्द फिर्ता लिन आग्रह गर्ने र अब कसरी अगाडी बढ्ने भन्ने बिषयमा दिउँसो छलफल कार्यक्रम राखिएको पनि उनले नेपाल रिपोर्ट्स लाई जानकारी दिए । अहिले पोखराका भित्री सडकका पसलहरु खुलेपनि अन्य ठाउँमा भने बन्द नै छन् ।
कास्कीका अधिकांश शिक्षण संस्थामा पढाई भएको छैन भने सडकमा प्रेस, एम्बुलेन्स तथा अत्यावश्यकीय सवारीसाधन बाहेक अरु गुडेका छैनन् । पोखरा उद्योग वाणिज्य संघ बन्दको अवज्ञा गर्दै दिनभरमा पोखराका सबै बजार खोल्ने जनाएको छ । संविधानको नयाँ मस्यौदाको विरोध गर्दै आज र भोली दुई दिनका लागि आव्हन गरिएको बन्दको प्रभाव काठमाडौंमा पनि कम परेको छ ।
Comments are closed.