पोखरा, ७ भदौ । संविधान निर्माणको अहिलेको महत्वपूर्ण घडीमा सबै राजनीतिक दल, वर्ग, समुदाय, पेसा व्यवसायी मिलेर आ–आफ्नो स्थानबाट संविधान छिटो ल्याउन सहयोग गर्नुपर्नेमा मुलुकका अधिकांश भागमा जारी बन्द हडतालप्रति लेखनाथ उद्योग वाणिज्य सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
बन्द हडतालले देशको अर्थतन्त्रमा दैनिक रु दुई अर्बभन्दा बढी घाटा पार्ने वर्तमान परिस्थितिमा विभिन्न समूहबाट आयोजना हुने बन्द र हडतालका कारण उत्पन्न परिस्थिति देशको अर्थतन्त्र तथा निजी क्षेत्रले धान्नै नसक्ने भन्दै सङ्घद्वारा आज प्रकाशित विज्ञप्तिमा अधिकार खोज्दा अर्काको अधिकार ख्याल नगरी बन्द हडताल गर्नेप्रति सङ्घ सदैव विरोध गर्दछ भनिएको छ ।
सङ्घका अध्यक्ष बाबुराम गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकको जनजीवन तथा देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने गरी आह्वान गरिएको बन्द हडताल फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गर्दै बन्द र हडतालजस्ता गतिविधि सधैँका लागि बन्द गर्न तथा जायज माग राख्ने बन्दको वैकल्पिक बाटो खोज्न सम्बन्धित पक्षसँग सङ्घले हार्दिक अनुरोध गरेको छ ।
Comments are closed.