पोखरा, ४ बैशाख-
लामो समयको गृहकार्यपछि पोखरामा स्तरीय नाटकघर बन्ने भएको छ । नाट्य समुह युथ क्रियशन थिएटरले पोखरामा नाटकघर निर्माण गर्ने भएको हो । नागढुंगास्थित करिब डेढ रोपनी जग्गा भाडामा लिएर संस्थाले भवन निर्माण गर्न लागिएको हो ।
नाटक घर निर्माणको लागि यतिबेला संस्थाले विशेष आर्थिक संकलन अभियान थालेको छ । ‘सामाजिक सहभागितामुलक हिसाबले हामीले नाटक घर निर्माण थालनी गर्ने भएका हौँ ।’ थिएटरका अध्यक्ष कपिल शर्मा संजोगले भने– ‘नाटक घर बनाउने ऐतिहासिक काममा सबैको सहयोग मिल्छ भन्ने हाम्रो आशा छ ।’ नाटक घर बनाउनका लागि आर्थिक अभियान शुरु भएसंगै केहि सहयोगीहरुले आर्थिक सहयोग गरिसकेको उनले जानकारी दिए ।
पोखरामा नाटक घर बन्नु पोखराकै गर्वको कुरा भएकोले सम्पूर्ण पोखरेलीहरुलाई आर्थिक सहयोग गर्न उनले आह्वान समेत गरे । नाट्य गतिविधि भैरहने पोखरामा नाटक घर स्थापना भएसंगै नाट्यकर्मीहरुलाई पनि धेरै सहज हुने विश्वास छ ।
नाटक घर निर्माणको लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान संस्थाको छ । ‘नाटक घरसँगै नाटक मञ्चनका लागि आवश्यक सबै सामाग्रीहरु हामीले यो खर्चमा उम्काउने योजनामा छौँ ।’ थिएटरका सचिव सौगात पोखरेलले भने–‘सबैको साथ र सहयोग रहनेका हामी ढुक्क छौँ ।’ पर्यटकीय हिसाबले अग्रस्थानमा रहेको पोखरालाई साँस्कृतिक पर्यटकीय गन्तब्य बनाउन पनि नाटकघरले भुमिका खेल्ने उनले दावी गरे ।
पहिलो चरणको काम केहि हप्ता भित्रै शुरु गर्ने योजना थिएटरले बनाएको छ । यो वर्षको साउन अन्तिमसम्ममा नाटक घर निर्माण गरिसक्ने लक्ष्य छ । पोखरामा नाटक घर बन्ने भएसँगै यहाँका नाट्यकर्मीहरु हर्षित भएका छन् ।
Comments are closed.