बरपाण्डेथुममा चिया वितरणसँगै ज्येष्ठ नागरिकलाई सम्मान


पोखरा, १३ चैत,

बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा–३३ भरतपोखरीको बरपाण्डेथुममा तुलसी चिया वितरणसँगै ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । खाद्य हरियाली शहर कार्यक्रम अन्तर्गत बरपाण्डेथुममा झण्डै तीन रोपनी क्षेत्रफलमा लगाइएको तुलसी खेतीबाट उत्पादित, प्रशोधित एवम् नाष्टबाट परीक्षण गरिएको चिया यस क्षेत्रका २०० जना सर्वसाधारणलाई वितरण गरिएको ज्येष्ठ नागरिक महासंघ नेपालका केन्द्रीय सदस्य केशवराज लम्सालले जानकारी दिनुभयो । उक्त अवसरमा यहाँका ५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री एवम् नाष्टका सल्लाहकार गणेश शाहले तुलसीको पर्यावरणीय महत्वका साथै यसले मानवीय स्वास्थ्यमा ठूलो योगदान गर्ने बताउनुभयो । स्वस्थ समाज निर्माणका लागि तुलसी रोप्नु अनिवार्य रहेको बताउँदै उहाँले तुलसीखेतीलाई आयआर्जनसँग जोड्न सकिने बताउनुभयो । ग्लोबल पिस फाउन्डेशनका अध्यक्ष रामरोहन पन्तले तुलसी खेतीप्रति
सर्वसाधारणलाई आकर्षित गर्न सकेकमा त्यसले वातावरण संरक्षणसँगै मानवीय स्वास्थ्यमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिमल्सिनाले स्थानीय ज्येष्ठ नागरिकको हक हितका लागि आयाआर्जन अभिबृद्धि लगायतका काममा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गैरी भञ्ज्याब सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष निलराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरपाण्डेथुम दिवा सेवा केन्द्रका सचिव मोती भुजेलले सञ्चालन गर्नुभएको थियो । नाष्ट र बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्यमा पोखरा–३३ भरतपोखरीमा खाद्य हरियाली शहर कार्यक्रम अन्तर्गत गत जेठमा सामुदायिक रुपमा तुलसीको प्राब्गारिक खेतीको विकास गरिएको थियो । उक्त कार्यक्रममा गैरी भञ्ज्याब काफलडाँडा सामुदायिक बन उपभोक्ता समुह, बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र र समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोषले स्थानीय सहकार्य गरेका थिए ।

Comments are closed.