पानी पर्न थालेदेखि भूकम्पपीडित वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थाले
प्रशन्न पोखरेल
गोरखा, २१ असार /बर्खा लागिसक्दा पनि गोरखाको सौरपानी गाविस– ८ रञ्चोकका भूकम्पपीडित त्रिपालमुनि दिनरात कटाइरहेका छन् । जमिन चिराचिरा परेकाले अस्थायी आवासका लागि भूकम्पपीडितले टहरो निर्माण गर्ने ठाउँ पाएका छैनन् । बस्ती छाडेर तैनिङ खेतमा त्रिपाल टाँगेर बस्दै आएका भूकम्पपीडित सद्दे जमिनको खोजीमा छन् ।
“घर ढल्यो, आँगन चिराचिरा परेको छ,” रञ्चोकका सन्तबहादुर विकले गुनासो गरे – “अन्यत्र जाऊँ भने आफ्नो नाउँमा जग्गा छैन । यही बसौँ भने पहिरोको डर छ ।” रञ्चोक गाउँमाथिको डाँडा गहिरो गरी धाँजा फाटेपछि भूकम्पपीडित तर्सेका हुन् । “अर्काको खेतमा त्रिपाल टाँगेर बसेका छौँ,” उनले भने – “अब खेत रोपाइँ गर्ने बेला भयो । साहुले हट भनेको दिन छाड्नुपर्छ । त्यसपछि कहाँ बास बस्ने ?” मकैबारी, आलुबारीमा रञ्चोकका भूकम्पपीडित बस्दै आएका छन् ।
मुसलधारे झरी परेपछि वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् । महाभूकम्प गएदेखि खेतमा बस्दै आएकी ८५ वर्षीय
कमली गुरुङले भनिन् – “दुःखजेलो गरेर बनाएको घर भुइँचालोले खोस्यो । त्रिपाल टाँगेर खेतमा बसेका छौँ ।
राहतको दुइ बण्डल टिनले घर छाउन सकिएन् ।”
बस्ने ठाउँको टुङ्गो नलाग्दा भूकम्पपीडितले अस्थायी आवासका लागि टहरो बनाउन पाएका छैनन् । दुई बन्डल जस्तापाता र किलाकाँटी पाएको बताउँदै स्थानीयवासी मङ्गल विकले भने– “भत्केको घरमा रहेको काठपातले घर बनाउन हुन्थ्यो । छाउने जस्तापाता सरकारले दिएको थियो । तर, जग राख्ने जग्गा भेटिएन ।” जिल्लास्थित दैवी प्रकोप उद्धार समितिले रञ्चोक गाउँलाई अन्यत्रै सुरक्षित ठाउँमा सार्नुपर्ने निर्णय गरेको छ । तर, त्यो निर्णय कार्यान्वयन चरणमा नपुगेकाले भूकम्पपीडित त्रिपालमुनि कष्टकर जीवन बिताउँदै आएका छन् ।
भग्नावशेषमा थुप्रिएको घरको नाल, दलिन, खाँबोलगायत काठपातको चोरी बढेको छ । गाउँदेखि कोल्टे परेको खेतमा भूकम्पपीडित बसेकाले रेखदेख गर्न पाएका छैनन् । चिरा परेको जमिन भएकाले पहिलेको बस्ती वरपर जान मानिस डराएका छन् । भूकम्पले रञ्चोकमा मात्रै १३ जनाको मृत्यु भएको थियो ।
मुसलधारे झरी परेपछि वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् । महाभूकम्प गएदेखि खेतमा बस्दै आएकी ८५ वर्षीय कमली गुरुङले भनिन् – “दुःखजेलो गरेर बनाएको घर भुइँचालोले खोस्यो । त्रिपाल टाँगेर खेतमा बसेका छौँ । राहतको दुइ बण्डल टिनले घर छाउन सकिएन् ।” दाउरा चिसो भएकाले दुई दिनदेखि आगो सल्काउन नसकेको उनले गुनासो गरे । भूकम्पले ओतमा भण्डारण गरिराखेको दाउराको खलियो पुरेको थियो । जङ्गलबाट ल्याएको दाउरा सल्काएर भूकम्पपीडितले जीवन निर्वाह गर्नुपरेको छ ।
भूकम्पमा घर भत्केपछि आफ्नो सम्धी र एक वर्षकी नातिनी गुमाउनुभएका मङ्गल बिकले भने – “भत्केको घर हेर्न गाउँले आउन सक्दैनन् । घर, आफन्त सम्झेर रुवाबासी चल्छ ।” रञ्चोकमा ढुङ्गामाटो र काठ प्रयोग गरेर बनाइएका कच्ची घरहरू थिए । “भगवान्को यो कस्तो खेला हो ?” मतिजाङ गाउँकी देशीमाया गुरुङले भने – “मान्छे, वस्तुभाउ, घर सबै एकै धक्कामा खेर गयो ।” गाउँघरमा युवायुवती नभएको भन्दै उनले भग्नावशेष तह लगाउने मान्छे नपाएको गुनासे गरे ।
“घरगोठ, खेतबारी सबै चर्किएको छ,” उनले भने – “कति दिन त्रिपाल टाँगेर बस्नुपर्ने हो ? पानी बर्सेको छ । चिरा परेको जग्गामा पहिरो गयो भने भूकम्पमा बाँचेका गाउँले बाँच्दैनन् ।” सरकारले आफूहरूलाई बस्ने ठाउँको टुङ्गो लगाइदिनुपर्ने देशीमायाको माग छ ।
“बर्खाभर हामीलाई यही गाउँको नजिकै राख्नुपर्छ,” उनले भने– “बर्खामा घरजग्गा पहिरो गएन भने अर्को वर्ष यही घर बनाउँला । पहिरो गयो भने सरकारले लान्छु भनेको ठाउँमा जाने हो ।” भूकम्पपीडितलाई आफ्नो गाउँ, ठाउँ छाड्ने मन छैन । उनीहरू भग्नावशेष भएको बस्तीको वरपर बस्न चाहन्छन् । खेतबारीमा लगाएको खेती पाक्ने बेला भएकाले अपायकमा टहरो निर्माण गर्न नहुने उनीहरूको भनाइ छ । अहिले खेतको मकै पाक्ने बेला भएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले मन्त्रिपरिषद्को निर्णयअनुसार असुरक्षित बस्ती अन्यत्र सार्ने तयारी गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले निर्वाचन क्षेत्रअनुसार रहेका गाउँहरू, बस्तीहरू सुरक्षित स्थानमा सार्नेबारे आवश्यक तयारी भइरहेको बताए । रञ्चोकमात्रै होइन, उत्तरी गोरखाको अधिकांश बस्ती बर्खाभरका लागि भने पनि अन्यत्र सार्नुपर्ने देखिएको समितिले जनाएको छ । केरौंजा, काशीगाउँ, मान्वु, उहिया, लापु, गुम्दा, लाप्राक, बारपाक, सौरपानी, सिम्जुङलगायत गाविसका विभिन्न बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको हो ।
इञ्जिनियर र भूगर्भविद्हरूको टोलीले गाउँको स्थलगत अनुगमन गरेर बस्ती सार्नुपर्ने सुभाव समितिलाई बुझाएको छ । अधिकांश बस्तीको माथि रहेका डाँडाहरू चिराचिरा परेकाले बर्खामा पहिरो झरेर पुर्ने सम्भावना देखिएको छ । पहिरोको डरले गोरखाका अधिकांश बस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएको हो ।
गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले गोरखाको ५८ हजार कच्ची घर बस्नै नहुने गरी भत्किएका थिए । तीमध्ये अधिकांश घरधनीले नयाँ टहरो निर्माण गरिसकेका छन् । उत्तरी भेगमा रहेको लाप्राक, गुम्दा, सौरपानीका विभिन्न क्षेत्रमा भने अझै भूकम्पपीडित ठाउँ अभावले त्रिपालमुनि दिनरात कटाइरहेको पाइएको छ ।
Comments are closed.