बलात्कारीलाई मृत्युदण्ड या नपुसंक बनाउने कानुन बनाउन माग

पोखरा १५ चैत्र ।देशैभर बालिका बलात्कारका घटना बढिरहेका बेला बलात्कारीलाई कडाभन्दा कडा सजाय हुने कानुन निर्माण गर्न पोखराका अधिकारकर्मीहरुले माग गरेका छन् ।सबैखाले विभेदको अन्त्य गरौं भन्ने नाराका साथ शनिबार पोखरामा भएको मानवअधिकार प्रशिक्षण तथा सम्पदा गोष्ठीका सहभागिहरुले यस्तो माग गरेका हुन् । उनीहरुले पछिल्लो क्रममा बढेका बलात्कारको घटना र घटनामा संलग्नलाई कडाभन्दा कडा कार्वाही हुनुपर्ने बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय प्रमुख डाक्टर टिकाराम पोख्रेलले मानवअधिकारको अहिलेको अवस्थाका बारेमा जानकारी दिँदै मानवअधिकारकर्मीहरुले पीडित र पिडक दुवै पक्षको मानवअधिकारका बारेमा विचार पु¥याउनुपर्ने बताए । कार्यक्रमका अन्य सहभागीहरुले मृत्युदण्ड या नपुंसक बनाउनेसम्मको सजाय दिने कानुन निर्माण गर्न र यस्तो सजाय दिन मिल्ने या नमिल्ने बारेमा मानवअधिकारकर्मीहरुले सरकारलाई सुझाब दिनुपर्ने बताएका थिए ।

पोखरा उपमहानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण शर्माले राष्ट्रिय सम्पदाहरुको संरक्षणमा नगरपालिकाको भूमिकाका बारेमा बोल्दै पोखरा उपमहानगरपालिकाले ६४ सालदेखि नै सार्वजनिक सम्पदाहरुको संरक्षणको पहल सुरु गरेको बताए । कार्यक्रममा नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका उपाध्यक्ष श्रीकृष्ण अधिकारी लगायतले बोलेका थिए ।राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कर्यालय पोखराको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

Comments are closed.