ओलीको जीवनमाथी बन्ने भयो फिल्म, ओलीले भने-‘आबश्यक थियो र ?’

आफ्ना भाषण र जोक्सहरुले जनतालाई फुरुङ पार्न सफल पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जीवनमा आधारित भएर एक नेपाली चलचित्र निर्माण हुने भएको छ । हाल प्रदर्शनरत चलचित्र ‘सेतो सूर्य’ को नामलाई ‘रातो सूर्य’ बनाएर निर्देशक दिपेन्द्र प्रसाद दाहालले चलचित्र निर्माण गर्न लागेका हुन । चलचित्र ‘रातो सूर्य’ मा केपी ओलीको बाल्यकालदेखी नेपालको ३८ औं प्रधानमन्त्रीबाट विदा हुँदासम्मको कथा समावेश गरिनेछ । यो चलचित्रको मंगलबार राजधानीमा केपी ओलीकै उपस्थितीमा शुभमुर्हुत पनि गरिएको छ । शुभमुर्हुत कार्यक्रममा बोल्दै केपी ओलीले आफुमाथी पनि कुनै दिन चलचित्र बन्छ भनेर नसोचेको बताए । उनले भने -‘मेरो जीवनमाथी चलचित्र बनाउन लाग्नु भएको रहेछ । तर मलाई मेरो जीवनमाथी चलचित्र बनाउनु पर्छ जस्तो लाग्दैन । तर, यसले देश र जनताका लागि योगदान पुग्छ भने राम्रो हो ।’
२०२८ सालको झापा आन्दोलनबाट सक्रिय रुपमा राजनीतिमा लागेका केपी ओलीको जीवनगाथा चलचित्रको पर्दामा उर्तान भने निर्माण पक्षलाई सोचे जस्तो सजिलो पक्कै हुनेछैन । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका केपी ओलीको कथा पर्दामा उर्तान सफल हुनेमा निर्देशक दिपेन्द्र प्रसाद दाहाल भने विश्वस्त देखिन्छन् । चलचित्रलाई स्वप्नील क्रिएशनले निर्माण गर्न लागेको हो । चलचित्रमा केपी ओलीको १२ वर्षसम्मको भूमिका निभाउने बालकलाकार तय भइसकेको छैन भने युवावस्थादेखि पचास वर्षबीचको भूमिका अनुपम शर्माले निभाउनेछन्। शर्मा रंगमन्च पृष्ठभूमिका अभिनेता हुन्। पुसको दुई गतेदेखि पूर्वी पहाडका पाँचथर, तेह्रथुम, इलाम हुँदै मध्यतराईमा पुगेर फागुनमा चलचित्र छायांकन सक्ने निर्देशक दिपेन्द्रले बताए। चलचित्रमा केपी ओलीको तीन अवस्था प्रस्तुत गरिने निर्देशक दाहालको भनाइ छ।

Comments are closed.