अमृत सुवेदी/ पोखरा २७ जेठ
बसाईसराइले गाउँ पुरै खाली हुन लागिसक्यो । गाउँका अधिकांश मान्छे सुविधा खोज्दै पोखरा र पोखरा आसपास झरीरहेका छन् । गाउँका खेतबारी अधिकांश बाँझै छन् । उनीहरुलाई पनि लागेको थियो गाउँमा भन्दा बजारमै झरेर केही गरौं । तर, उनीहरुले सोंच बदले र गाउँमै उद्यम गर्न कस्सीए ।
कास्की सिल्दुजुरे–४ तप्राङ्गका पाँच युवाले सामुहिक बाख्रापालन सुरु गरेका छन् । तप्राङ्गका विष्णु बराल, दिपक बराल, सूर्यबहादुर पाण्डे, कृष्ण बहादुर श्रेष्ठ र मनमाया देवकोटाको संयुक्त लगानीमा बाख्रा पालन सुरु भएको हो ।
सामुहिक रुपमा बाख्रा पालन थालेका उनीहरुले आफ्नै जग्गामा खोर बनाएका छन् भने बाख्रा चरन तथा घाँसका लागि ४० हजार रुपैयाँमा गाउँमै पाखो जग्गा भाडामा लिएका छन् । यो समुहमा केही विदेशमा परिश्रम गरेर फर्केका २ जना युवा पनि छन् भने गाउँमै परम्परागत खेती किसानी तथा व्यवसाय गर्दै आएका युवा छन् ।
‘परिवार बजारमा झारेर आफु परदेश जानुभन्दा गाउँमै केही गर्न सकिन्छ भने त्यता तर्फ किन नसोँच्ने भनेर हामीले सल्लाह ग¥यौं’ संचालक मध्यका एक विष्णु बरालले भने, ‘गाउँमा घाँसपातको समस्या पनि नहुने र यसमा भविष्य पनि छ भनेर बाख्रा पालन गर्ने सोंच बनाएका हौं ।’ अब गाउँमै दिगो रुपमा व्यवसाय गर्नुपर्छ र गाउँ छाडेर जानेहरुलाई गरे गाउँमै पनि केही हुँदो रहेछ भनेर देखाउने धोको छ ।
‘म वैदेशिक रोजगारीका शिलशिलामा साउदी गएर फर्केको हुँ । जहाँ गएपनि काम गर्न र पैसा कमाउन सजिलो छैन भन्ने मैले बुझें’ अर्का सञ्चालक दिपक बरालले ‘विदेशबाट फर्केपछि शहर झर्ने धेरै छन् तर, मलाई साथीहरुको सल्लाह ठिक लाग्यो र बाख्रा पालनमै लाग्ने निधो गरें । अब गाउँ छाड्नेहरुलाई गाउँमै संभावनाको दैलो उघारिएको देखाउनुछ ।’
दिगो व्यवसायका रुपमा बाख्रा पाल्ने सोंच बनाएको यो समुहले दिगो कृषि विकास तथा सुनौलो बाख्रा फार्मको नाममा संस्था दर्ता गरी त्यसै मार्फत बाख्रामा लगानी बढाएको हो । अहिले उनीहरुको खोरमा माउ पाठापाठी गरी ८५ वटा बाख्रा छन् । दशैंसम्ममा २५ वटा बोका तयार हुने उनीहरुले बताए । ‘अहिलेसम्म हामीले करिव ८ लाख रुपैयाँ यसमा खर्च गरिसकेका छौं । अझै पुरै व्यवस्थापन भैसकेको छैन । सबै सकिँदा १० लाख रुपैयाँ जति लाग्ला’, दिपक बरालले भने, ‘बाख्राले पाठापाठी पाउन सुरु गरिसकेको छ । हामीमा उत्साह छाउन थालिसकेको छ । एकदिन सफल हुनेमा ढुक्क छौं ।’
निरन्तर लगाव र मिहिनेत गर्ने हो भने सफल भईन्छ भन्ने उनीहरुमा विश्वास छ । व्यवसाय बढाउँदै जाने र यसको व्यावसायिक तथा प्राविधिक ज्ञान पनि बढाउँदै लैजाने सोंच उनीहरुले बनाएका छन् । तत्कालै कसैसँग सहयोगको अपेक्षा नगरेपनि भविष्यमा व्यवसाय राम्रो हुँदै गएपछि कृषि विकास कार्यालय, जिल्ला पशु विकास कार्यालय लगायतबाट सहयोग पाउनेमा ढुक्क रहेको उनीहरुले बताए । ‘सरकारले कृषि तथा पशुपालनमा अनुदान तथा अन्य सहयोग गर्छ भन्ने हामीलाई थाहा छ’ बरालले भने, ‘व्यवसाय थाल्नु अगाडी नै सहयोग माग्नुभन्दा व्यवसाय थालिसकेपछि अपेक्षा राख्नेछौं ।’ बाख्रा पालन सुरु गरेदेखि नै सबैजनाबाट सकरात्मक सल्लाह र हौसला मिलिरहेको उनीहरुले बताए ।
Comments are closed.