पोखरा । गत आइतबार बाग्लुङको बडिगाड गाउँपालिका १० बल्देधुरीमा होली मनाउने क्रममा भएको झडपमा दुइजना युवाको ज्यान गएको घटनामा सोधपुछको लागि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
यो घटनालाई बागलुङका प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले प्रत्यक्ष अनुसन्धान गरिरहेको बताएका छन् । उनका अनुसार ५ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको छ ।
बाह्रखरीसँगको सम्पर्कमा उनले भने, “सोधपुछको लागि पक्राउ गरेका हौँ ।” उनीहरुलाई बागलुङ र गुल्मी जिल्लाबाट पक्राउ गरिएको उनले जानकारी दिए ।
“अहिलेलाई पक्राउ मात्र गरेका छौँ, थप विवरण सोधपुछपछि आउनेछ,” उनले भने ।प्रहरीले घटना भएको चारदिनपछि उनीहरुलाई पक्राउ गरेको हो ।
पाँचजना पक्राउ परिसकेको भए पनि बाँकी दुइजना भने बाहिरी जिल्लाबाट ल्याउन लागिएको छ ।
उक्त घटनामा प्रकाश कुँवर र दीपक परियारले ज्यान गुमाएका थिए भने ६ जना घाइते भएका थिए । घाइतेमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्केका छन् । अर्का घाइते ज्ञानु परियारको टाउकोमा गहिरो चोट लागेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचारपछि उनी पाल्पा थप उपचारका लागि गएका छन् ।मृतकको शव घटनास्थलदेखि ४ सय मिटर तल भेटिएको थियो । दोषी पक्राउ नपरेसम्म शव नउठाउने अडान लिएका मृतकका आफन्तले सहमतिपछि अन्त्येष्टि गरेका छन् ।
यो घटनामा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरको नेतृत्वमा ११ सदस्य र पोखराबाट सीआईबीको टोली समेत अनुसन्धानमा खटिएको छ । barha khari news
Comments are closed.