पोखरा, ७ भदौ
नेपाली काङ्ग्रेस कास्कीले पार्टी सम्बद्ध कार्यकर्ताहरुलाई विचलित नहुन आग्रह गरेको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति कास्कीको आइतबार वसेको बैठक पछि कास्कीका सभापति यज्ञबहादुर थापाले जारी गरेको विज्ञप्तीमा नेपाली काङ्ग्रेसका निष्ठावान, संघर्षशील, लोकप्रिय नेता रामजी पौडेल (बादल)को हत्या पछि यस दुःखद्, शोकाकुल र पीडादायी परिस्थितिमा सिङ्गो नेपाली काङ्ग्रेस र काङ्ग्रेसको एकतालाई कमजोर तुल्याउने गरी सार्वजनिक भएका अतिरञ्जित, भ्रामक र कपोलकल्पित प्रचारवाजीबाट सम्पूर्ण पार्टी सम्वद्ध साथीहरुलाई भ्रमित र विचलित नभई सदाझैं एकतावद्ध भई दृढतापूर्वक उभिन आग्रह गरिएको छ।
विज्ञप्तीमा स्वर्गीय बादलको हत्यामा संलग्न भई फरार अभियुक्तहरुको गिरफ्तारीमा भएको ढिलाईप्रति पार्टी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस सन्दर्भमा यसभन्दा अगाडि पनि पटक–पटक औपचारिक, अनौपचारिक बैठक बसी पार्टीले आधिकारीक धारण सार्वजनिक गरेको सर्वविदितै छ विज्ञप्तिमा भनिएको छ– फरार अभियुक्तहरुलाई शीघ्रातिशीघ्र गिरफ्तार गरी कानुनको कठघरामा ल्याउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछु।
उक्त घटनामा घाइते हुनु भएका नेपाली काङ्ग्रेस क्षेत्र नं.१ का क्षेत्रीय सदस्य एवम् इलाका नं.२ का संयोजक मनोज गुरुङ र नेपाल तरुण दल कास्कीका उपाध्यक्ष नारायणहरि तिवारीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
साथै नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरुको उपस्थितिमा स्व.बादलप्रति उच्च सम्मान र वृहत सहभागिताका साथ श्रद्धाञ्जली अर्पण गर्न भदौ ८ गते लेखनाथ नगरपालिका वडा नं. १२, पावरहाउस, बरालथरमा विहान दश वजे जिल्ला कार्यसमिति कास्कीले आयोजना गर्न लागेको श्रद्धाञ्जली सभामा पार्टी, पार्टीका भातृ संस्था, शुभेच्छुक संस्थाका सबै तहका साथीहरु र सम्पूर्ण लोकतन्त्र प्रेमी दिदीबहिनी, दाजुभाईमा उपस्थितिका लागि विज्ञप्ती मार्फत अनुरोध गरिएको छ।
Comments are closed.