हटलाइन संवाददाता/ पोखरा, ११ भदौ
साउन २९ गते राती लेखनाथमा काँग्रेस नेता रामजी पौडेल ‘बादल’को हत्यापछि, सोही रात मुख्य अभियुक्तहरु बिश्वास गौतम र प्रकाश गुरुङसहितको टोलीको रात दुलेगौंडामा बित्यो । दुलेगाैँडामै हुँदा, उनिहरुले बादलको हत्या भएको र आफुहरुको खोजी भइरहेको जानकारी पाए । त्यसपछि, उनिहरु लागे नवलपरासी तर्फ । नवलपरासी पुग्न उक्त टोलीले राजमार्ग हैन, भित्री बाटो रोजे । अर्थात दुलेगौंडाबाटै, उनिहरु भित्री बाटो डेढगाउँको आसपासबाट, गैंडाकोट पुगे । गैडाकोटमा काँग्रेसमै रहेर अपराधिक गतिबिधीमा संलग्न चन्द्रबहादुर थापामगर, रबिन क्षेत्री र भरत पौडेल लगायतसँग भेट भयो । त्यहाँबाट, उनिहरुले भैरहवामा बस्ने बिरेन्द्रकुमार मगरसँग सम्पर्क गरे । भरत पौडेले बिश्वास र प्रकाशलाइ लिएर भैरहवा पुगे । भैरहवामा सीमा पारी सम्पर्क भएका बिरेन्द्रकुमार तयारी अवस्थामा थिए ।
देहरादुनमा बिश्वास गौतमका साथी थिए । नेपालीहरु पनि हुने भएकाले त्यहाँ लुक्न सजिलो हुने उनको अनुमान थियो । उनिहरुले उतै जाने योजना बनाए । साथमा करिव पचास हजार भारतीय रुपैयाँ थियो उनिहरुसँग । सुनवल हुँदै सीमा कट्ने बेलामा प्रकाश गुरुङमा भने चयन थिएन । कारण थियो उनकी प्रेमीका (अर्कैकी श्रीमती) बिदेश उड्ने तरखरमा थिइन् । कास्कीस्थित उच्च प्रहरी स्रोतका अनुसार पोखराकै काजीपोखरी घर भएकी ती युवतीलाई घरीघरी मोबाइलबाट, म्यासेज गर्नैमा उनको समय बितेको थियो । सीमा पार गरेर लखनउ पुगे । लखनउसम्म पुगेका अभियुक्तहरु भगाउन भूमिका खेल्ने भरतले त सुरुमै भनेका थिए रे–‘प्रकाशको चाला ठिक छैन । उ नेपाल फर्कन्छ भनेर ।’ नभन्दै लखनउ पुगेपछि, प्रकाशले आफु नेपाल फर्कने वताए । कारण थियो बिदेश उड्न लागेकी प्रेमीका भेट्नु । भरत गोरखपुरबाटै फर्केका थिए । बाँकी भए, बिश्वास र विरेन्द्र । उनिहरु दुबै जना लागे दिल्ली हुँदै देहरादुन । यता कास्की प्रहरीले उनीहरुले नेपालमा सम्पर्क गर्ने ब्यक्तिहरुको कल डिटेल हेरीरहेको थियो ।
![pic]()
बादल हत्याका संलग्न अभियुक्तहरुः लेखनाथ १६ का ३० बर्षीय राजु रानाभाट, लेखनाथ १२ का २५ बर्षीय विश्वास गौतम, लेखनाथ १४ सात मुहानेका २० बर्षीय बले भन्ने अशोक गुरुङ र लेखनाथ १३ का ३० बर्षीय प्रकास गुरुङ । हत्यामा संलग्न रबिन केसी अझै फरार छन् ।
सबै तर्फबाट चासोका साथ हेरिएको घटना कास्की प्रहरी प्रमुख हरि पालको पनि कास्की बसाईको ‘कार्यक्षमता’ सँग जोडिएको थियो । उनले नेपालमा सीमा वारका मात्रै हैन, सीमा पारीका आफ्ना चिनेजानेका प्रहरीका अधिकारीसँग पनि आफ्नो सम्बन्ध प्रयोग गरेर अभियुक्तहरु लुक्न सक्ने ठाउँका बारेमा, जानकारी आदान प्रदान गरेको स्रोत वताउँछन् । तर, स्वयं प्रहरी उपरिक्षक हरिबहादुर पालले भने बिहिबार संवाददाताहरुसँग पक्रिएको ठाउँका बारेमा खुलेर वताएनन् । तर, सर्वत्र चासोका रुपमा हेरिएको, बादल हत्याकाण्डका मुख्य अभियुक्तहरुलाई समयमै पक्राउ गरेर काम गर्ने प्रहरीका रुपमा सँगठनमा चित्रित पालले आफ्नो नम्बर बढाएका छन् ।
उता घटना भएको तेस्रो दिननै बादल हत्याको बिरोधमा भएको प्रर्दशनमा फुटेको टाउको लिएर वडा प्रहरी कार्यालय डाँडाकोनाक प्रहरी चौकीका प्रहरी निरिक्षक गंगा थापा पनि उतै गएका थिए । तर, उनलाई संपर्क गर्दा, आफुलाई यस बारेमा केही जानकारी नभएको भन्दै सबै कुरा जिल्ला प्रहरी कार्यालय कास्कीमै बुझ्न आग्रह गरे । तर, स्रोतका अनुसार देहरादुन प्रहरीले त्यहाँको होटलमा पक्रने बेलामा प्रहरी निरिक्षक थापा पनि त्यही पुगेका थिए । उनले नै उनिहरुलाई मंगलवार पोखरा ल्याएको पोखरामै कार्यरत एक बरिष्ठ प्रहरी अधिकारीले वताए । ति बरिष्ठ प्रहरी अधिकारीका अनुसार देहरादुनमा प्रहरीले बिश्वास र बिरेन्द्रलाइ पक्रियो । नेपालको प्रहरीले त्यहाँ गएर पक्राउ गर्ने अधिकार हुँदैन । अनि उनिहरुले सीमासम्म ल्याइदिए । सीमाबाट, नेपाल प्रहरीको टोलीले पोखरा ल्यायो ।
हत्याका अभियुक्तहरुलाई भगाउन सहयोग गर्ने क्रमशः कपिलबस्तु घर भई सिद्धार्थ नपा १ मा बस्ने ३४ बर्षीय विरेन्द्र राना मगर, नवलपरासी १ सुनवलका २५ बर्षीय भरत पौडेल, पिठयौली २ नवलपरासी घर भई गैंडाकोट २ बस्ने ३४ बर्षीय मिन बहादुर घले, तनहुँ शुक्लागण्डकी ३ दुलेगौंडाका ३५ बर्षीय चन्द्र बहादुर थापा मगर र स्याङ्जा विचारीचौतारा ७ का गैंडाकोट २ बस्ने रविन क्षेत्री ।
उता लखनउबाट, आएका प्रकाश गुरुङले नेपाल आएर पोखरामा लेकसाइडको होटलमा तिन दिन बिताए । एउटा होटलमा आफ्नी प्रेमीकासँग तिन दिन बिताएका उनले त्यसपछि, काजीपोखरीमा डेरा सरे । त्यहाँपनि उनको प्रेमीकासँग सम्पर्क भइरहेको थियो । प्रहरीले उनकी प्रेमीकाको मोबाइलमा निगरानी गरीरहेको थियो । तिन दिन अघि कास्की प्रहरीेले प्रकाश गुरुङकी प्रेमीकालाई उनकै घरबाट, उठाएर प्रहरी चौकीमा ल्यायो । अनि उनै प्रेमीकालाई मोबाइलमा म्यासेज गर्न लगायो । प्रकाशको मोबाइलको नेटवर्क अमरसिंह चोक क्षेत्रमा देखाएको थियो । तर, ठ्याक्कै उनी लुकेको घर पत्ता लगाउन सकेको थिएन । तर, उनकै प्रेमीकासँगको सम्पर्कले प्रकाश गुरुङ प्रहरीको फन्दामा परे ।
कास्की प्रहरीले बिहीबार पत्रकार सम्मेलनमा सार्वजनिक गर्दा, बिश्वास र प्रकाशको अनुहार थकित देखिन्थ्यो । बिश्वास भने अलि टाढै दखिन्थे । उनिहरु आपसमा खासखुस गर्थे । पहिल्यै पक्राउ परेका आकाश गुरुङ र राजु रानाभाटको अनुहार पनि हेर्न लायक देखिन्थ्यो ।
प्रहरी स्रोतका अनुसार सबै अभियुक्तहरु लुकेर धेरै दिन बस्न सकिन्न भन्ने कुरामा पुगीसकेका थिए । उनिहरुले केही नजिकका वकिलसँग पनि आफ्नै सम्पर्कमा परामर्श गरीरहेका थिए । वकिलहरुले केही समय लुक्ने र पछि अदालतमै गएर आत्मसमर्पण गर्न सल्लाह दिएका कारण केही समय बाहिरै लुक्ने योजना थियो । तर, कास्की प्रहरी घटनाको अनुसन्धानमा यती दत्तचित्तले लागिदियो कि उनिहरुको त्यो योजना पुरा हुनै पाएन ।
राजेन्द्रमणी निर्दोष !
कास्की प्रहरीले सबै अभियुक्तहरुलाई सार्वजनिक ग¥यो । तर, सोही घटनामा पक्राउ परेका काँग्रेसका लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछानेका बारेमा प्रहरीले केही बोलेन । त्यसपछि, संबाददाताहरुको प्रश्न तेर्सियो । । जबाफमा कास्की प्रहरी प्रमुख हरिबहादुर पालले भने–‘उहाँ अहिले सम्मको अनुसन्धानले निर्दोष देखिनुभएको छ । थप अनुसन्धान हुँदैछ ।’ प्रहरी उपरिक्षक पालले घटनाका दोषीलाई छाड्न आफुलाई कुनै दबाब नआएको भन्दै जो कसैले आफ्नो फोनको कल डिटेल समेत हेर्न सक्ने वताए । ‘कसैको दबाब आएको पनि छैन । आएपनि अपराधी उम्कन्छन् भनेर कुनैपनि ओहदाका ब्यक्तिले नचिताए हुन्छ । सबै अपराधीले सजाय पाउछन्’, पालको भनाइ थियो ।
Comments are closed.