बिटी कपको तयारी तिव्र

प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख  ६५ हजार रुपैयाँ खर्च हुने


पोखरा, १२ चैत ।
बुद्धटोल युवका क्लबले आयोजना गर्ने १५ औं बिटी कप पाँचौं विरेन स्मृति सेभेन ए साइड खुल्ला नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको तयारी तिब्र पारेको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी १८ गते देखि २४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तिब्र पारिएको आज (शनिबार) पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
प्रतियोगिताको प्रचारप्रसार संयोजक अमृत गुरुङले सो प्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने बताए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । उनले सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिने जानकारी दिए । संयोजक गुरुबका अनुसार उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने छ ।
त्यसैगरी क्लबका अध्यक्ष विजया गुरुङले खेलकुदसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको बताईन् । उनले कोरोना भाईरसको महामारीको समयमा विभिन्न स्थानमा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्दै सामाजिक उत्तरदायित्व वहन गरेको बताएकी थिईन् । सो प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने र प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख  ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

Comments are closed.